चुनाव जितेपछि तलबभत्ता विपन्नका छोराछोरीलाई दिने घिमिरेको घोषणा
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ११ सोमबार
779
Shares
दाङ। नेपाली कांग्रेस दाङ क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार किरण किशोर घिमिरेले आफू निर्वाचित भएपश्चात् नेपाल सरकारबाट प्राप्त हुने तलब-भत्ता निम्न वर्ग तथा दलित समुदायका बालबालिकाको शिक्षामा खर्च गर्ने घोषणा गरेका छन् ।
बंगलाचुली गाउँपालिका-१, बोझपोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै घिमिरेले आर्थिक अभावका कारण पढाइबाट वञ्चित हुन बाध्य भएका दलित तथा विपन्न परिवारका छोरा-छोरीलाई शिक्षासम्म पुर्याउने आफ्नो प्रतिबद्धता दोहोर्याए ।
“राजनीति केवल पद र प्रतिष्ठाका लागि होइन, समाज परिवर्तनका लागि हो,” उनले भने, “म निर्वाचित भएमा पाउने तलब-भत्ता विपन्न तथा दलित समुदायका बालबालिकाको शिक्षामा लगानी गर्नेछु।”
उनले शिक्षालाई सामाजिक रूपान्तरणको मुख्य आधार भएको उल्लेख गर्दै राज्यबाट पाउने सुविधालाई समाजमै फर्काउने प्रतिबद्धता जनाए।
घिमिरेले दाङ-२ मा शिक्षा, स्वास्थ्य, सडक र रोजगारीलाई प्राथमिकतामा राखेर काम गर्ने पनि बताए। चुनावी सभामा उपस्थित स्थानीयवासीहरूले उम्मेद्वारको घोषणालाई सकारात्मक रूपमा लिँदै शिक्षामार्फत् दलित तथा निम्न वर्गको जीवनस्तर उकास्ने योजनालाई स्वागत गरेका थिए।