काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि सम्भावित सैन्य हमलाको नेतृत्व 'ज्वाइन्ट चिफ अफ स्टाफ' का अध्यक्ष जनरल डान काइनले गर्ने बताएका छन्। उनले यदि ह्वाइट हाउसबाट सैन्य कारबाहीको आदेश दिइएको खण्डमा त्यसको कमान्ड जनरल काइनले नै सम्हाल्ने स्पष्ट पारे।
सैन्य विकल्पको चर्चा गरे पनि राष्ट्रपति ट्रम्पले इरानसँग सम्झौता गर्नु नै सबैभन्दा राम्रो विकल्प हुने धारणा समेत राखे।
यसअघि, वासिङ्टन पोस्टले गत हप्ता ह्वाइट हाउसमा भएको बैठकलाई उद्धृत गर्दै जनरल काइनले इरानमाथि हमला गर्दा हुनसक्ने गम्भीर जोखिमबारे चेतावनी दिएको रिपोर्ट सार्वजनिक गरेको थियो। काइनले हमलाका क्रममा महत्वपूर्ण हतियार तथा गोलाबारुदको कमी हुन सक्ने र सहयोगी देशहरूबाट अपेक्षित समर्थन प्राप्त नहुन सक्ने उल्लेख गर्दै अमेरिकी सेना ठूलो जोखिममा पर्न सक्ने औँल्याएका थिए।
स्रोतहरूका अनुसार उनले इरानसँगको युद्ध लामो समयसम्म चल्न सक्ने र त्यसले क्षेत्रीय स्थिरतामा पार्ने नकारात्मक प्रभावबारे पनि राष्ट्रपतिलाई सचेत गराएका थिए। जनरल काइनको कार्यालयले जारी गरेको वक्तव्यमा राष्ट्रपतिको प्रमुख सैन्य सल्लाहकारको रूपमा उनले नागरिक नेतृत्वलाई विभिन्न सैन्य विकल्प, तिनका प्रभाव र सम्भावित जोखिमबारे जानकारी गराउनु स्वाभाविक भएको उल्लेख गरिएको छ।
यसैबीच, अमेरिका र इरानबीच आगामी बिहीबार जेनेभामा नयाँ चरणको वार्ता तय भएको छ। यो वार्ता मुख्यतया इरानको आणविक कार्यक्रम, युरेनियम संवर्द्धनको स्तर र इरानमाथि लगाइएका प्रतिबन्धहरू हटाउने विषयमा केन्द्रित हुने अपेक्षा गरिएको छ। यद्यपि, अघिल्ला दुई चरणका वार्ताहरूमा भने खासै प्रगति हुन सकेको छैन।
ट्रम्प प्रशासनले इरानसँग नयाँ आणविक सम्झौता गर्न चाहेको सङ्केत दिए पनि आवश्यक परे सैन्य विकल्पलाई पनि 'टेबल' मा राखेको छ। जनरल काइन ट्रम्पका प्रमुख सैन्य सल्लाहकार भएकाले इरानसँग सम्बन्धित आगामी रणनीतिमा उनको भूमिका निर्णायक हुने देखिएको छ।