स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन हुन्छ : गृहमन्त्री अर्याल
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १६ शनिबार
672
Shares
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारी र शान्ति सुरक्षाबारे विभिन्न जिल्लाका मतदान स्थलको स्थलगत निरीक्षण तथा अनुगमन गरेका छन् ।
उनीसँग कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितको उच्चअधिकारी टोली सहभागी थियो ।
टोलीले निर्वाचन सुरक्षाबारे जिल्ला सुरक्षा समिति, जिल्लास्थित प्रमुख राजनीतिक दल, प्रमुख मतदान अधिकृत तथा अन्य सरोकारवालासँग छलफल र अन्तरक्रिया गरेको हो ।
अनुगमनमा सहभागी गृहमन्त्रालयका सह-प्रवक्ता रमा आचार्यका अनुसार मन्त्री अर्याल नेतृत्वको टोलीले शुक्रबार बिहान दोलखाको बैदेश्वर गाउँपालिकाका मतदान स्थलको स्थलगत अनुगमन गरी सुरक्षा अवस्थाबारे समीक्षा गरेको थियो। त्यसपछि टोलीले ओखलढुंगा पुगेर निर्वाचन तयारी र शान्ति सुरक्षाबारे अन्तरक्रिया गरेको थियो ।
ती छलफलका क्रममा गृहमन्त्री अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरिने प्रतिवद्धता जनाए ।
उनले शान्ति सुरक्षाको व्यवस्था राम्रो रहेकाले सबैले ढुक्क भएर मतदान गर्न मतदातालाई आग्रह गरे ।
साथै उनले गैरकानूनी गतिविधिमा संलग्नलाई कानूनको दायरामा ल्याएर कडा कारबाही गरिने बताए ।
धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न र उम्मेद्वारको व्यक्तिगत सुरक्षामा विशेष ध्यान दिन पनि उनले निर्देशन दिए ।
कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन स्वच्छ, निष्पक्ष हुने विश्वास व्यक्त गर्दै निर्वाचन आचारसंहिता उलंघन गर्नेलाई कानूनी दायरामा ल्याउनुपर्नेमा जोड दिए ।
सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले निर्वाचनको तयारी तथा जिल्लाको समग्र शान्ति सुरक्षाबारे जानकारी गराउनुका साथै उनले जिल्लामा स्रोत साधन तथा सुरक्षा टोलीको परिचालनबारे अवगत गराए ।
मुख्य निर्वाचन अधिकृतहरूले पनि निर्वाचनका लागि कर्मचारी व्यवस्थापन चुस्त र दुरुस्त रहेको तथा राजनीतिक पार्टीहरुसँग प्रभावकारी समन्वय भइरहेको बताए ।
पहाडी जिल्लाको अवलोकनपछि मन्त्री अर्यालको टोलीले तराई-मधेसका मोरङ, रौतहट र पर्सा जिल्लामासमेत मतदान स्थलको निरीक्षण गर्दै सरोकारवालासँग छलफल गरेको छ । पर्साको छलफलमा बाराको जिल्ला सुरक्षा समिति तथा अन्य सरोकारवाला सहभागी थिए ।
अनुगमनका क्रममा रौतहटमा आयोजित कार्यक्रममा गृहमन्त्री अर्यालले तराई-मधेस क्षेत्रमा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न सबैको योगदान रहेको उल्लेख गरे ।
उनले निर्वाचनसम्बन्धी कुनै कसुर भएमा निर्वाचन विरोधी तत्वहरूलाई उन्मुक्ति दिन नहुनेमा जोड दिए ।
मन्त्री अर्यालले जिल्लामा निर्वाचन सुरक्षा तयारीको राम्रो प्रवन्ध गरेकामा गृह मन्त्रालयको तर्फबाट हार्दिक आभार प्रकट गरे ।
रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले विभिन्न समूह र संस्थाले बेला बखत धार्मिक तथा साम्प्रदायिक द्वन्द्व फैलाउने प्रयास गरिए पनि त्यसलाई नियन्त्रणमा लिएर शान्ति सुव्यवस्था कायम गरिएको उल्लेख गरे ।
जिल्ला सुरक्षा समितिका पदाधिकारीसहितको उपस्थितिमा मुख्य निर्वाचन अधिकृत मनोज केसी र निर्वाचन अधिकृत सीताराम खड्काको उपस्थिति रहेको थियो । मुख्य निर्वाचन अधिकृतले निर्वाचनको सबै तयारी भइसकेको जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारीले सबै जिल्लाको ब्रिफिङ लिई निर्वाचनका लागि सम्पूर्ण तयारी भएको अवगत गराए ।
अनुगमनमा गृहमन्त्री अर्याल, कार्यबाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाली सेनाका बलाधिकृत रथी प्रदिपजंग केसी, एआइजी गणेश ठाडा मगर, गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्ले, सह-प्रवक्ता रमा आचार्य, डीआइजी विष्णु भट्ट सहभागी थिए ।