पाकिस्तानमा अमेरिकी दूतावासले रद्ध गर्यो भिसा प्रक्रिया
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १९ मंगलबार
2.3k
Shares
तस्बिर : फाइल
काठमाडौँ । पाकिस्तानमा रहेको अमेरिकी दूतावासले सुरक्षा कारणले गर्दा सबै भिसा भेटघाटका समयहरू रद्द गरेको छ। पाकिस्तानमा रहेको अमेरिकी दूतावासले यो निर्णय इस्लामाबाद साथै लाहोर र कराँचीमा रहेका कार्यालयहरूमा लागू हुने बताएको छ। यो आदेश मार्च ६ सम्म लागू रहनेछ।
आइतबार कराँचीमा रहेको अमेरिकी वाणिज्य दूतावास बाहिर विरोध प्रदर्शन गरिएको थियो। सुरक्षाकर्मीहरूले गरेको गोलीबारीमा कम्तीमा १० जनाको मृत्यु भएको थियो । अमेरिका र इजरायलको आक्रमणमा इरानका सर्वोच्च नेता अली खामेनी मारिएको खबर आएपछि यो विरोध प्रदर्शन भएको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकीहरूलाई सकेसम्म चाँडो मध्य पूर्व छोड्न आग्रह गरेका छन् । ट्रम्पले इरानमाथिको सबैभन्दा ठूलो आक्रमण अझै बाँकी रहेको बताएका छन् । सोमबार ह्वाइट हाउसमा एक विज्ञप्तिमा उनले इरानसँगको युद्ध ४-५ हप्तासम्म चल्न सक्ने बताएका थिए । तर आवश्यक परेमा यो अभियान लामो समयसम्म जारी रहनेछ।
आज इजरायल, अमेरिका र इरानबीचको युद्धको चौथो दिन हो । सो क्रममा अहिलेसम्म इरानमा ७४२ जनाको मृत्यु भएको छ भने ७५० जना घाइते भएका छन् । मारिनेमा १७६ बालबालिका हुन् ।
अल-जजीराको रिपोर्ट अनुसार अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमा हालसम्म एक हजार भन्दा बढी निशानाहरूमा आक्रमण गरेका छन् । पहिलो ३० घण्टामा दुई हजार भन्दा बढी बम खसालिएका छन् ।
फेब्रुअरी २८ तारिख अर्थात् फागुन १६ गतेदेखि शुरु भएको लडाइँको पहिलो दिन भएको बम विस्फोटमा इरानी सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको मृत्यु भएको थियो । आइतबार तीन अमेरिकी सैनिक पनि मारिएका थिए ।