मलेखु। धादिङमा ५० दशमलव २९ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयका प्रारम्भिक रिपोर्टअनुसार कुल दुई लाख ७५ हजार दुई सय ८० मतदातामध्ये एक लाख ३८ हजार चार सय ४७ मत खसेको हो।
जिल्लामा रहेको ११४ मतदानस्थलबाट मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ल्याउन सुरु गरिएको छ। धादिङ निर्वाचन क्षेत्र नम्बर १ को गल्छी गाउँपालिकाको महेशदोभानमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा र धादिङ निर्वाचन क्षेत्र नम्बर २ को सदरमुकाम धादिङबेसीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका संकलन गरिने जिल्ला निर्वाचन कार्यालय धादिङका प्रमुख शिवबहादुर गुरुङले जानकारी दिए।
गुरुङका अनुसार क्षेत्र नम्बर १ को मतपेटिका आजै राति १२ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा सङ्कलन हुने र क्षेत्र नम्बर २ को रुवीभ्याली गाउँपालिका, खनियाबास गाउँपालिका र गंगाजमुना गाउँपालिकाका मतदान केन्द्रहरुको मतपेटिका शुक्रबार दिउँसो मात्रै सदरमुकाम आइपुग्नेछ। सदरमुकाम आसपासका पालिकाहरुबाट भने मतपेटिका आजै मतगणनास्थलमा ल्याइने जनाइएको छ।