काठमाडौँ । बझाङ जिल्लाको एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेकपा (एमाले) का उम्मेदवार ऐनबहादुर महर निर्वाचित भएका छन्। प्रमुख निर्वाचन अधिकृत सुवर्णमान बनेपालीका अनुसार महरले नेपाली कांग्रेसका उम्मेदवार प्रकाश रसाइली स्नेहीलाई २ हजार २३९ मतान्तरले पछि पार्दै जित हासिल गरेका हुन्। कुल ५७ हजार ९९४ मत खसेकामा विजयी महरले १८ हजार ५४३ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रसाइलीले १६ हजार ३०४ मत पाएका छन्।
यसैगरी, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मीनबहादुर कुँवरले ९ हजार ७५७ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शैलेशकुमार सिंहले ९ हजार २६३ मत पाएका छन्। अन्य उम्मेदवारहरूमध्ये नेकपा (माओवादी) का भरत मल्लले ५०४, राप्रपाका विश्वप्रकाश जेठाराले ४०५ र नेमकिपाका दलबहादुर बोहराले ४१ मत प्राप्त गरेका छन्।
सुदूरपश्चिमको हिमाली जिल्ला बझाङमा एमाले र कांग्रेसबीच निकै कडा प्रतिस्पर्धा देखिएको थियो। अन्ततः पूर्व विद्यार्थी नेता महरले बाजी मार्दै संसद्को यात्रा तय गरेका छन्। अहिले बझाङको सदरमुकाम चैनपुरमा एमालेका कार्यकर्ताहरूले विजयी जुलुस निकालिरहेका छन्।