काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत जुम्लाको एकमात्र निर्वाचन क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ज्ञानेन्द्र शाही निर्वाचित भएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार शाहीले १४ हजार ८१६ मत प्राप्त गरी सानदार जित हासिल गरेका हुन्। उनले आफ्ना निकटतम प्रतिस्पर्धीलाई ३ हजार १८१ मतान्तरले पराजित गरेका छन्।
शाहीका प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार नरेश भण्डारीले ११ हजार ६३५ मत प्राप्त गरे। यस्तै, नेपाली कांग्रेसका दीपबहादुर शाहीले ७ हजार १४३ र नेकपा (एमाले) का शान्तिलाल महतले ४ हजार ५१८ मत पाएका छन्। सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सिनाका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की विनीता कठायतले ४२१ मत प्राप्त गरिन्।
यसैगरी, नेमकिपाका बृषबहादुर रावतले ४००, प्रलोपाका मनऋषि धितालले ११२ र अन्य उम्मेदवारले न्यून मत पाएका छन्। जुम्लामा विभिन्न राजनीतिक दलका ९ जना र एक स्वतन्त्र गरी १० जना उम्मेदवारहरू चुनावी मैदानमा थिए। युवाहरूमाझ लोकप्रिय रहेका शाहीले दोस्रो पटक जुम्लाबाट आफ्नो संसद यात्रा सुरक्षित गरेका छन्।