काठमाडौँ । इलाम निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। मुख्य निर्वाचन अधिकृत रोशन गजुरेलका अनुसार नेम्बाङले २२ हजार ४२६ मत प्राप्त गरी जित हासिल गरेका हुन्। उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भेषराज आचार्यलाई ७ हजार ७७६ को फराकिलो मतान्तरले पराजित गरेका छन्।
कांग्रेसका आचार्यले १४ हजार ६५० मत प्राप्त गरेका छन्। यस्तै, श्रम संस्कृति पार्टीका सुदिप राईले १४ हजार ४०० मत, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गोकुलबहादुर राईले ७ हजार ८१४ मत र नेपाली कम्युनिस्ट पार्टीका ओमबहादुर गुरुङले १ हजार १७२ मत पाएका छन्। सुहाङ नेम्बाङको प्रतिनिधिसभा सदस्यका रूपमा यो दोस्रो विजय हो। यसअघि २०८१ वैशाख १५ को उपनिर्वाचनमा पनि उनले कांग्रेसकै उम्मेदवारलाई पराजित गरेका थिए।
अर्कोतर्फ, कांग्रेसका भेषराज आचार्यका लागि यो दोस्रो पराजय हो। यसअघि २०७० सालको संविधानसभा निर्वाचनमा उनी सुहाङका बुबा सुवासचन्द्र नेम्बाङसँग २ हजार १०२ मतले पराजित भएका थिए। यस क्षेत्रमा कुल १ लाख १९ हजार ४८९ मतदाता रहेकामा ६७ हजार ६६४ मत खसेको थियो, जसमध्ये ३ हजार ८८३ मत बदर भएको छ। यहाँ १३ राजनीतिक दल र एक स्वतन्त्र गरी जम्मा १४ जना उम्मेदवारहरू चुनावी मैदानमा थिए।