जनार्दन शर्मा तेस्रो बने, रुकुम पश्चिममा गोपाल शर्मा विजयी
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २४ आइतबार
959
Shares
काठमाडौँ । रुकुम पश्चिमको एकमात्र निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार गोपाल शर्मा निर्वाचित भएका छन्। निर्वाचन आयोगका अनुसार शर्माले २१ हजार ६०९ मत प्राप्त गरी जित हासिल गरेका हुन्। उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका राजु केसीलाई ४ हजार ९४८ मतान्तरले पराजित गरेका छन्।
निर्वाचनमा कांग्रेसका राजु केसीले १६ हजार ६६१ मत प्राप्त गरेका छन्। यसपटकको निर्वाचनमा सबैभन्दा रोचक पक्ष, सोही क्षेत्रबाट पटक-पटक जित्दै आएका प्रभावशाली नेता एवं प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्मा भने १४ हजार ३४६ मतका साथ तेस्रो स्थानमा खुम्चिएका छन्।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मानबहादुर शाहीले ४ हजार ७६ मत, नेकपा (एमाले) का नन्दराम देवकोटाले १ हजार ८६९ मत र नेकपा (माओवादी) का चन्द्रबहादुर बुढाले ३६६ मत पाएका छन्। कुल १ लाख ६ हजार ६६९ मतदाता रहेको रुकुम पश्चिममा ५४ हजार २६३ पुरुष र ५२ हजार ३९६ महिला मतदाता रहेका थिए। जनार्दन शर्माको विरासत तोड्दै गोपाल शर्माले निकालेको यो जितलाई कर्णालीको राजनीतिमा अर्थपूर्ण रूपमा हेरिएको छ।