arrow

एमाले नेता बर्तौलालाई पछि पार्दै २५ वर्षीय युवा संसदमा

मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ मा प्रशान्त उप्रेती निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २४ आइतबार
prasant-upreti.jpg

काठमाडौँ । मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा (एमाले) का प्रभावशाली युवा नेता एवं स्थापित सांसद महेशकुमार बर्तौला पराजित भएका छन्। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट २५ वर्षीय युवा उम्मेदवार प्रशान्त उप्रेतीले भारी मतान्तरले पराजित गर्दै संसद्को यात्रा तय गरेका हुन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार रास्वपाका उप्रेतीले ३१ हजार ७२५ मत प्राप्त गरी सानदार जित हासिल गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका बर्तौलाले १९ हजार ६२४ मत मात्र प्राप्त गरे। उप्रेतीले बर्तौलालाई १२ हजार १०१ को फराकिलो मतान्तरले पछाडि पारेका हुन्।

निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार बुद्ध लामा १५ हजार ४२६ मतसहित तेस्रो स्थानमा रहे भने नेपाली कम्युनिस्ट पार्टीका लवशेर विष्टले १२ हजार ७५४ मत प्राप्त गरे।

मनहरी गाउँपालिका–७ निवासी २५ वर्षीय प्रशान्त उप्रेती पेसाले शिक्षक तथा होटल एवं पर्यटन व्यवसायी हुन्। राजनीतिमा स्थापित र 'हेभीवेट' मानिने महेश बर्तौलालाई निकै कम उमेरका उप्रेतीले पराजित गर्नुलाई बागमती प्रदेशकै सबैभन्दा ठूलो 'उलटफेर' मानिएको छ।

जिल्लाका दुई क्षेत्रमा कुल ५९ प्रतिशत मत खसेको मकवानपुरमा २१ जना उम्मेदवार चुनावी मैदानमा थिए। यो जितसँगै मकवानपुरमा रास्वपाले आफ्नो बलियो उपस्थिति प्रमाणित गर्दै पुराना दलहरूको किल्ला भत्काएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ