रौतहटमा ९० प्रतिशत उम्मेदवारको धरौटी जफत, एमाले र कांग्रेसका उम्मेदवारकै जोगिएन जमानत
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २६ मंगलबार
675
Shares
काठमाडौँ। हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणामसँगै रौतहटमा एउटा रोचक तथ्याङ्क बाहिर आएको छ। जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरेका कुल उम्मेदवारमध्ये झण्डै ९० प्रतिशतको धरौटी रकम जफत भयो।
जिल्ला निर्वाचन कार्यालय रौतहटले दिएको जानकारी अनुसार, चुनावी मैदानमा उत्रिएका १४२ जना उम्मेदवारमध्ये १२८ जनाले आफ्नो जमानत जोगाउन सकेनन्। कानुनी प्रावधान अनुसार कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसकेपछि उनीहरूको धरौटी रकम राज्यकोषमा दाखिल भएको हो।
जिल्ला निर्वाचन अधिकारी छोटेलाल दासका अनुसार क्षेत्र नं १ मा कुल ३९ उम्मेदवारमध्ये ३४ जनाको जमानत जफत भयो। यस्तै क्षेत्र नं २ मा २६ उम्मेदवारमध्ये २३ जनाको धरौटी गुम्यो। यस क्षेत्रमा नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवारहरूले समेत न्यूनतम मत कटाउन नसक्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
सबैभन्दा धेरै ४० जना उम्मेदवार रहेको क्षेत्र नं ३ मा ३७ जनाको जमानत जफत भयो। यहाँ नेपाली कांग्रेस, एमाले र नेकपा जस्ता ठूला दलका उम्मेदवारहरूकै धरौटी जफत भएको निर्वाचन अधिकारी दासले जानकारी दिए। क्षेत्र नं ४ मा पनि ३७ उम्मेदवारमध्ये ३४ जनाको जमानत गुम्यो। यस क्षेत्रमा एमाले, जसपा र आम जनता पार्टी (आजपा) का उम्मेदवारहरूले १० प्रतिशत मत पुर्याउन सकेनन्।
निर्वाचन कार्यालयका अनुसार, प्रति उम्मेदवार १० हजार रुपैयाँका दरले कुल १२ लाख ८० हजार रुपैयाँ राजस्व खातामा जम्मा भएको छ। जमानत जोगाउन सफल भएका विजयी उम्मेदवारसहितका अन्य १४ जनाले भने प्रक्रिया पुर्याएर निवेदन दिएमा आफ्नो धरौटी फिर्ता पाउनेछन्।
यो तथ्याङ्कले रौतहटको राजनीतिमा केही सीमित उम्मेदवारको वर्चस्व र ठूलो संख्यामा रहेका स्वतन्त्र तथा साना दलहरूप्रति मतदाताको न्यून आकर्षणलाई प्रष्ट पारेको छ।