मध्यपूर्व युद्धको प्रत्यक्ष असर: श्रीलंकामा इन्धनको मूल्य वृद्धि, साउनसम्मको लागि मात्रै आपूर्ति सुनिश्चित
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २७ बुधबार
1.8k
Shares
काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्व बजारमा कच्चा तेलको मूल्यमा आएको उत्तारचढावलाई मध्यनजर गर्दै श्रीलंकाले देशभर इन्धनको खुद्रा मूल्यमा भारी वृद्धि गरेको छ। सरकारी स्वामित्वको सिलोन पेट्रोलियम निगमले सोमबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको नयाँ मूल्य निर्धारण गरेको हो।
नयाँ मूल्य समायोजन अनुसार ९५ अक्तेन पेट्रोलमा सबैभन्दा बढी २५ रुपैयाँ वृद्धि भई प्रतिलिटर ३६५ रुपैयाँ कायम भएको छ। ९२ अक्तेन पेट्रोलको मूल्य २४ रुपैयाँले बढेर ३१७ रुपैयाँ पुगेको छ। डिजेलतर्फ अटो डिजेल प्रतिलिटर २२ रुपैयाँले बढेर ३०३ रुपैयाँ र सुपर डिजेल २४ रुपैयाँले वृद्धि भई ३५३ रुपैयाँ पुगेको छ। यस्तै, मट्टीतेलको मूल्यमा १३ रुपैयाँ वृद्धि गरी प्रतिलिटर १९५ रुपैयाँ तोकिएको छ।
निगमका अधिकारीहरूका अनुसार मध्यपूर्वको युद्धले विश्वव्यापी ऊर्जा आपूर्ति शृङ्खला प्रभावित बनाएपछि आन्तरिक बजारमा मूल्य समायोजन गर्नुपर्ने बाध्यता आइलागेको हो। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अनिश्चित बनेकाले धेरै देशहरूमा इन्धनको मूल्यमा दबाब बढेको निगमको भनाइ छ।
मूल्य वृद्धि भए पनि निगमले देशमा इन्धनको अभाव हुन नदिन आपूर्ति व्यवस्थापनलाई तीव्र पारेको छ। आगामी साउन महिनासम्म पुग्ने गरी इन्धन आपूर्तिका लागि आवश्यक अर्डरहरू दिइसकिएको र दीर्घकालीन समाधानका लागि अन्तर्राष्ट्रिय टेन्डरमार्फत खरिद प्रक्रिया अघि बढाइएको छ।
निगमका प्रबन्ध निर्देशक मयुरा नेथ्थिकुमारागेका अनुसार हालको खपत दरलाई आधार मान्दा अहिले मौज्दात रहेको इन्धन आगामी अप्रिल महिनाको अन्त्यसम्मका लागि पर्याप्त रहनेछ। सरकारले ऊर्जा सुरक्षा सुनिश्चित गर्न आपूर्ति प्रणालीको निरन्तर निगरानी र योजना बनाइरहेको जानकारी दिएको छ।