पाँचथर । पाँचथर फिदिम नगरपालिका वडा नम्बर २ निवासी भवानी प्रसाद काफलेलाई अहिले तरकारी खेती लगाउन भ्याई नभ्याई छ । उनको बारीमा अहिले १४ हजार काउलीको विरुवा लगाइसकिएको छ । यस्तै बेमौसमी तरकारीहरु स्क्वास,फर्सी, तथा फलफूल काँक्रा लगाउन उनलाई हत्तारो भइसकेको छ ।
वि.स. २०४७ सालदेखि कृषि पेशा अंगालेका उनले कृषि क्षेत्रमै महत्वपूर्ण योग्दान पुरयाएको भन्दै धेरै वाट निकाय बाट धेरै पटक सम्मानित समेत भइसकेका छन् । कृषि क्षेत्रमा लागेरै अहिले उनले एउटा पक्की घर,घडेरीहरु जोडेका छन् । छोराछोरीलाई बोडिङमा पढाएका छन् । अहिले तरकारी बाट मात्रै वार्षिक उनको ८ देखि १० लाख रुपैया आम्दानी रहेको वताउने गर्दछन् । यस्तै उनलाई तरकारी खेती गर्न उनका घर परिवारले समेत साथ दिने गरेका छन् । उनका छोरा टेकराज काफलेले अहिले उनलाई कृषि क्षेत्रमा साथ दिएका छन् । पछिल्लो समय दैनिक हजारौ यूवाहरु रोजगारीका लागि खाडी मुलुक गइराखेको समयमा यसतर्फ पनि राज्यले निती बनाएर यहिँ कृषिका क्षेत्रमा काम गर्ने वातावरण बनाईदिन आग्रह गरे।
उनले भने,“भारत सरकारले त्यहाँका कृषकहरुलाई अनुदान यथेष्ट रुपमा दिने गरेको र कृषकहरुको लगानी कम पर्ने हुँदा त्यहाँ बाट आउने तरकारीको मूल्य यहाँ भन्दा सस्तो हुने गरेको छ,तर हाम्रो नेपाल सरकारले पनि यसरी ब्यवसायिक रुपमा लागेका कृषकलाई उत्साहित गर्न अनुदान तथा कृषिसम्वन्धी तालिम,गोष्ठीको कार्यक्रम गर्न र अपकरण प्रदान गरे धेरै राहत हुने थियो ।”
अहिले काफले परिवारले वार्षिक ३० हजार रुपैयामा १० रोपनी जग्गा लिजमा लिएर खेती गरिरहेका छन् । उनलाई जिल्ला कृषि विकास कार्यालय पाँचथरले समेत आवश्यक परामर्श,प्राविधिक सहायक,औजार लगायतका सामाग्री सहयोग गर्दे आएको जिल्ला कृषि विकाश कार्यालय पाँचथरका प्रमुख वरिष्ठ कृषि विकाश अधिकृत कमलेश तिवारीले वताए ।
कृषि क्षेत्रमा लागेका हामी जस्ता कृषकहरुलाई राज्यले हेर्ने दृष्टिकोण समेत परिवर्तन गर्नुपर्ने कृषक भवानी काफलेको वुझाई छ । छिमेकी मुलुक भारतमा त्यहाँको सरकारले कृषकलाई अनुदान वढि दिने गरेको र त्यहाँबाट नेपाल तरकारी आउँदा सस्तो पर्ने तर त्यहाँबाट आएको तरकारीभने विषादी रहित भने नहुने गरेको उनी वताउँछन् । कार्यालयले ब्यवसायिक रुपमा लागेका कृषक काफलेलाई पहिल्यै विऊ विजन वितरण गरिएपनि अहिले देखि भने पोली हाउस वितरण गरिएको कार्यालयका नायव सहायक प्राविधिक नरहरी निरौलाले वताए ।