होर्मुज जल मार्गमा युद्धपोत पठाउन शक्ति राष्ट्रहरूलाई ट्रम्पको आह्वान
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १ आइतबार
2k
Shares
काठमाडौँ । मध्यपूर्वमा जारी भिषण युद्धले विश्व ऊर्जा आपूर्तिमा गम्भीर सङ्कट पैदा गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्यको सुरक्षाका लागि शक्ति राष्ट्रहरूलाई आफ्ना युद्धपोत पठाउन सार्वजनिक रूपमा आह्वान गरेका छन्।
विश्वको झन्डै पाँचौँ भाग तेल आपूर्ति हुने यस सामरिक मार्ग इरानी आक्रमणको जोखिमका कारण अवरुद्धजस्तै बनेपछि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा ४० प्रतिशतसम्म वृद्धि भएको छ।
शनिबार सामाजिक सञ्जालमार्फत राष्ट्रपति ट्रम्पले विशेष गरी चीन, फ्रान्स, जापान, दक्षिण कोरिया र बेलायतलाई समुद्री सुरक्षा बल तयार पारी जलमार्ग खुला राख्न सहयोग गर्न आग्रह गरेका हुन्।
गत फेब्रुअरी २८ बाट अमेरिका–इजरायल गठबन्धनले इरानविरुद्ध सुरु गरेको सैन्य अभियानका क्रममा पेन्टागनले १५ हजारभन्दा बढी सैन्य लक्ष्यमा प्रहार गरिसकेको दाबी गरेको छ। हालै अमेरिकी सेनाले इरानको प्रमुख तेल निर्यात केन्द्र खर्ग टापुमा आक्रमण गरी त्यहाँका सैन्य संरचना ध्वस्त पारेको छ भने इरानले आफ्ना ऊर्जा संरचनामा क्षति पुगे अमेरिकी कम्पनीहरूमाथि कडा प्रतिकार गर्ने चेतावनी दिएको छ।
यस युद्धका कारण इरानभित्र करिब ३२ लाख मानिस विस्थापित भएका छन् भने १ हजार २०० भन्दा बढीको मृत्यु भइसकेको छ। नेतृत्व तहमा समेत उथलपुथल देखिएको छ; सर्वोच्च नेता अली खामेनीको मृत्युपछि उहाँका छोरा मोजतबा खामेनीलाई नयाँ नेता घोषणा गरिए पनि उहाँ सार्वजनिक रूपमा देखिनुभएको छैन।
द्वन्द्वको राप इरान बाहिर पनि तीव्र रूपमा फैलिएको छ। इराकस्थित अमेरिकी दूतावास, संयुक्त अरब इमिरेट्सको फुजैराह बन्दरगाह र कुवेतको विमानस्थलमा ड्रोन तथा मिसाइल आक्रमण भएका छन्। इजरायल र खाडी मुलुकहरूले इरानबाट प्रहार गरिएका ड्रोन र मिसाइलहरू आफ्ना वायु प्रतिरक्षा प्रणालीमार्फत अवरुद्ध गरिरहेका छन्।
युद्धको प्रभाव खेलकुद क्षेत्रमा पनि देखिएको छ; बहराइन र साउदीका प्रमुख कार दौड प्रतियोगिता रद्द गरिएका छन् भने अस्ट्रेलिया भ्रमणमा रहेको इरानी महिला फुटबल टोलीका केही सदस्यले स्वदेश फर्कन अस्वीकार गर्दै शरण मागेका छन्। अर्कोतर्फ, लेबनानको हिजबुल्लाह समूह पनि युद्धमा सक्रिय रूपमा तानिएपछि क्षेत्रीय युद्ध थप भयावह हुने देखिएको छ।