arrow

मातृ भाषाको पढाइले बीचमै विद्यालय छाड्ने विद्यार्थी घटे

logo
प्रकाशित २०७३ फागुन १४ शनिबार
school-class-teacher.jpg.jpeg
कञ्चनपुर । राना थारु मातृ भाषामा पढाइ हुन थालेपछि कञ्चनपुरको देखतभूलीमा रहेको राष्ट्रिय बहुभाषिक विद्यालयमा बीचमै विद्यालय छाड्ने विद्यार्थीको सङ्ख्यामा कमी आएको छ । 
 
घरमै बोलिने मातृ भाषामा विद्यार्थीलाई पढाउन थालिएपछि बीचमै विद्यालय छाड्ने विद्यार्थीको सङ्ख्या शून्य प्रतिशतमा झरेको छ । 
 
विगतमा बीचमै विद्यालय छाड्ने विद्यार्थीको सङ्ख्या पाँच प्रतिशतभन्दा बढी हुने गरेको थियो । विद्यालयका प्रधानाध्यापक छविलाल जोशीले भन्नुभयो, “विद्यालयमा पढाइने पाठ्यपुस्तकलाई शिक्षकले राना थारु भाषामा अनुवाद गरी पढाउन थालेपछि बीचमै विद्यालय छाड्ने विद्यार्थीको सङ्ख्या शून्यमा झरेको छ ।” 
 
विद्यालय नआउने विद्यार्थीको घरमै गएर शिक्षकले विद्यालय आउन प्रेरित गर्ने कार्यले समेत विद्यार्थीले बीचमै विद्यालय छाड्ने क्रम हट्दै गएको उहाँले बताउनुभयो । 
 
भाषाको कठिनाइले विद्यालय आए पनि बीचमै कक्षा छाडेर भागेर जाने विद्यार्थी समेत हाल कक्षामा सहभागी भई पढ्दै आएका छन् । 
 
विद्यालयमा पढाउने नौ जना शिक्षकमध्ये छ जना राना समुदायकै भएकाले पनि विद्यार्थी विद्यालयमा नियमित हाजिर हुन थालेका हुन् । 
 
विद्यार्थी समयमै विद्यालय पुग्ने र पढाइप्रतिको लगाब बढ्न थालेपछि नतिजामा समेत सुधार देखिएको विद्यालयका शिक्षकको भनाइ रहेको छ । “आधारभूत तहका बालबालिकालाई घरायसीमैत्री वातावरणमा मातृभाषामै पठनपाठनको कार्य हुँदै आएकाले निजी विद्यालयमा पठनपाठन गर्दै आएका बालबालिका समेत यस विद्यालयमा भर्ना गराएका छौँ” स्थानीय अभिभावक भीम रानाले भन्नुभयो । 
 
बचपनदेखि बालबालिकाले बोल्दै आएको भाषामै पढ्न पाएपछि चाँडै कक्षामा पढाएको कुरा सिक्ने र पढ्नका लागि अभिरुची देखाउने गरेको उहाँले बताउनुभयो । पाँच वर्षअघि पाठ्यक्रम विकास केन्द्रले विद्यालयलाई राना थारु भाषामा छापिएका पाठ्यपुस्तक उपलब्ध गराए पनि त्यसपछिका वर्षमा पाठ्यपुस्तक उपलब्ध नहुँदा विद्यालयका शिक्षकले आफैँ पाठ्यपुस्तक अनुवाद गरी पढाउँदै आएका छन् । 
 
विसं २०१४ मा स्थापना भएको यस विद्यालयमा अध्ययनरत ३७६ विद्यार्थीमध्ये ९७ प्रतिशत विद्यार्थी राना समुदायका रहेका छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ