काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने परम्परागत घोडेजात्रा पर्व आज काठमाडौँ उपत्यकामा विभिन्न कार्यक्रम गरी मनाइँदै छ। यस अवसरमा सरकारले काठमाडौँ उपत्यकामा आज सार्वजनिक बिदा दिएको जनाएको छ।
घोडेजात्राका अवसरमा आज दिउँसो सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले विशेष समारोहको आयोजना गर्नेछ। समारोहमा सेनाले अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम र विविध युद्धकलाको प्रदर्शन गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
सांस्कृतिक मान्यता अनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा बास गर्ने 'गुरुमापा' नामक राक्षसले सहरका बालबालिकालाई दुःख दिने र खाइदिने गरेपछि स्थानीयले उसलाई घोडाको टापले कुल्चाएर मारेको विश्वास गरिन्छ। सोही विजयको खुसीयाली र राक्षसको आत्मालाई शान्त पार्ने प्रतीकका रूपमा प्रत्येक वर्ष घोडा दौडाउने परम्परा रहिआएको संस्कृतिविद्हरूले बताएका छन्।
काठमाडौँको टुँडिखेलमा मात्र नभई आजकै दिन ललितपुरको पाटनमा पनि एउटा घोडा दौडाएर घोडेजात्रा मनाउने प्राचीन परम्परा छ। उपत्यकाका दुवै सहरमा घोडाको टापले जमिन कुल्चाउँदा नकारात्मक शक्ति क्षय हुने जनविश्वास रहेको स्थानीयले उल्लेख गरेका छन्।
नेपाली सेनाले हरेक वर्ष यो पर्वलाई राष्ट्रिय महत्त्वका साथ मनाउँदै आएको छ। समारोहमा राष्ट्रपति, प्रधानमन्त्री लगायत राज्यका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहने छ।