arrow

वैदेशिक रोजगारीका नाममा ठग्ने पाँच पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ९ सोमबार
pakrau9.jpg

काठमाडौँ। प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौँ कीर्तिपुर नगरपालिकाका ९७ बस्ने बर्दिया घर भएका ३६ वर्षीय अर्जुनबहादुर पौडेल, ललितपुर महालक्ष्मी नगरपालिका-७ बस्ने सर्लाही घर भएका ४६ वर्षीय डिल्लीराम भुजेल, काठमाडौँ महानगरपालिका-१६ बस्ने ४३ वर्षीया उमा गुरुङ, ललितपुर महानगरपालिका-७ बस्ने कास्कीका ३३ वर्षीय आशिष महत र भक्तपुर मध्यपुर थिमी नगरपालिका-४ बस्ने रामेछाप घर भएकी ३५ वर्षीया संगीता श्रेष्ठ छन् ।

पक्राउमध्ये अर्जुनले क्रोएशिया पठाइदिन्छु भन्दै एक जना पीडितबाट तीन लाख ३० हजार रुपैयाँ, डिल्लीले मालदिभ्स पठाइदिन्छु भन्दै एक जना पीडितबाट दुई लाख ९९ हजार रुपैयाँ, उमाले बेलायत पठाइदिन्छु भन्दै एक जना पीडितबाट दुई लाख रुपैयाँ, आशिषले बेलायत पठाइदिन्छु भन्दै एक जना पीडितबाट २३ लाख रुपैयाँ र संगीताले पोर्चुगल पठाइदिन्छु भन्दै एक जना पीडितबाट तीन लाख ६८ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उमा र संगीतालाई काठमाडौँ महानगरपालिका-१२ बाट तथा आशिषलाई काठमाडौँ महानगरपालिका-१० बाट आइतबार पक्राउ गरेको हो ।

साथै अर्जुनलाई काठमाडौँ महानगरपालिका-४ बाट र डिल्लीलाई काठमाडौँ महानगरपालिका-९ बाट शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ