arrow

न्याय नपाएसम्म इनिशाको शव नउठाउने चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १२ बिहिबार
isika-bks.jpg

काठमाडौँ। सुर्खेतकी इनिशा विक हत्या प्रकरणमा अनुसन्धान ढिला गरिएको र अहिलेसम्म दोषीहरुलाई कारबाही नगरिएको भन्दै संघर्ष समितिले आपत्ति जनाएको छ ।

बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै समितिका सदस्यहरूले घटनामा किटानी जाहेरी दिँदासमेत लिन नमानिएको र हत्यारालाई जोगाउन खोजिएको कुरा आफूहरूले पटकपटक उठाएको दाबी गरेका हुन् ।

इनिशा हत्या प्रकरणमा दोषीलाई कारवाही गर्न नसक्नु र पीडितहरूले न्यायका लागि सडक संघर्ष गर्नुपर्ने कुरा राज्य असफलता भएको प्रमाणित भएको उनीहरूको भनाइ छ ।

अभियन्ता जीवन तिरुवाले महिलाहरुको न्यायको लागि आफूहरुले निरन्तर संघर्ष गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

इनिशाले न्याय नपाएसम्म शव नउठ्ने पनि उनको भनाइ छ ।

राज्यले ठीक जवाफ नदिएसम्म र पीडितलाई न्याय नदिएसम्म संघर्ष समिति निरन्तर संघर्षमा रहने पनि उनको चेतावनी छ ।

इनिशा विक, रश्मीका परियारलगायतलाई न्याय दिन राज्य तयार नहुँदासम्म तबसम्म आन्दोलन निरन्तर हुने र त्यो आन्दोलनबाट हुने क्षतिको जिम्मा पनि सरकारले लिनुपर्ने बताए । भोलि चैत्र १३ गते शान्तिपूर्ण आन्दोलन गरिने पनि चेतावनी दिए ।

बलात्कारपछि हत्या प्रकरण प्रहरी प्रशासनले कडाइका साथ अनुसन्धान गर्नुपर्ने र कारबाही गरिनुपर्ने उनीहरूको माग छ ।

उनीहरूले महिलाहरूको न्यायका लागि आफूहरू सडकबाटै क्रान्ति गर्न पनि तत्पर रहेको उद्घोष गरेका छन् ।

कार्यक्रममा सविना सिंह ठकुरीले आफूहरूले विगत १७ दिनदेखि इनिशा विकले न्याय पाउनुपर्छ भनेर सडकमा प्रदर्शनमा उत्रिएको स्मरण गराइन् ।

उनले भनिन्, ‘१७औं दिनसम्म पनि हामीले इनिशा विक बहिनीको न्यायको अनुभूति गरेका छैनौँ। सामाजिक सञ्जालमा जबरजस्ती करणी होइन भनेर हालिएको छ, यस्तो कुरामा हाम्रो असहमति छ । हामी अझै सडक संघर्ष समितिबाट अघि बढ्छौँ। हामी इनिसासँगै १२ जना चेलीहरू जो बलात्कारपछि हत्याको शिकार भएका छन्, उनीहरूको न्यायका लागि आवाज उठाइरहन्छौँ ।’

उनले सडक संघर्ष समितिको आवाज बालेन शाहले पनि सुन्नुपर्ने बताइन् ।

वालेन्द्र साह (बालेन) प्रधानमन्त्री बन्न लागेको भन्दै साह नेतृत्वको सरकारले महिला हिंसाको घटनामा कस्तो कदम चाल्छ भनेर नजिकबाट नियाल्ने र पीडितहरुको न्यायको पक्षमा कदम नचाले संघर्षलाई सशक्त बनाउने पनि उनको चेतावनी छ ।

उनले भोलिबाट सडक संघर्ष समितिले मौन आन्दोलन शुरू गर्ने बताइन् ।

समितिले छानबिनमा खटिएका एसपी सुधीरराज शाहीको राजीनामासमेत मागेको छ ।

उनले भनिन्,‘खबरदार छ सुधीरराज शाहीलाई, तपाईंले निश्पक्ष छानबिन नगरेर गलत तरिकाको छानबिन गर्नुभयो, तपाईंको यो छानबिनप्रति असहमति जनाउँदै तपाईंको एसपीबाट राजीनामा माग्छौँ। महिला आयोगको अध्यक्षको पनि राजीनामा माग्दछौँ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ