स्पाको आवरणमा अवान्छित क्रियाकलाप, प्रहरीको फन्दामा परे लेकसाइडका आठ व्यवसायी
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १६ सोमबार
746
Shares
काठमाडौँ । कास्की प्रहरीले पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा सञ्चालित स्पा सेन्टरहरूमा छापा मारी आठ जना सञ्चालकलाई पक्राउ गरेको छ। आइतबार गरिएको यस कारबाहीमा स्पा सेन्टरभित्र बालिकाहरूलाई काममा लगाएको र मापदण्ड विपरीतका गतिविधि सञ्चालन गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेहरूमा लेकसाइड क्षेत्रमा व्यवसाय गर्ने ४७ वर्षीय होमबहादुर बुढाथोकी, २४ वर्षीया जेनिशा श्रेष्ठ सुनार, २३ वर्षीया शर्मिला परियार, ४२ वर्षीय सुरेश विक, २७ वर्षीय जीवन श्रेष्ठ, ३० वर्षीया अप्रिना खातुन, ४४ वर्षीय राजु थापामगर र पोखरा–१७ का २८ वर्षीय सरोज सुनार रहेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार बालिकाहरूलाई कामदारका रूपमा प्रयोग गरेको, स्पाको आवरणमा अवान्छित क्रियाकलाप गराएको र तोकिएको मापदण्ड पालना नगरेकाले उनीहरूमाथि कारबाही अघि बढाइएको हो।
प्रहरीले ती स्पा सेन्टरहरूबाट उद्धार गरिएका बालिकाहरूलाई सुरक्षित रूपमा उनीहरूका परिवार र आफन्तको जिम्मा लगाएको छ। पक्राउ परेका सञ्चालकहरूमाथि थप अनुसन्धान भइरहेको र कानुन बमोजिम मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।