स्पेन । स्पेनिश लिग फुटबल ला लिगामा उपाधि दावेदार क्लवहरु रियाल मड्रिड र बार्सिलोना विजयी भएका छन् । आइतबार राति भएको खेलमा रियाल मड्रिडले भिल्लारियललाई उसकै मैदान इस्टाडियो डे ला सेरामिकामा ३–२ ले हरायो ।
टिममा फर्किएसंगै ग्यारेथ बेलले रियाललाई उद्दार गरेका हुन् । २–० ले पछि परेको अवस्थामा ६४ औं मिनेटमा बेलले रियाललाई पहिलो गोल दिलाए । त्यसैगरी क्रिष्टियानो रोनाल्डोले ७४ औं मिनेटमा पेनाल्र्टीमार्फत दोस्रो गोल गरे ।
८३ औं मिनेटमा अल्भारो मोराटाले विजयी गोल गरे । यसअघि मध्यान्तरपछि मानुएल ट्रिग्वेरस र सेड्रिक बकाम्बुले भिल्लारियलाई गोल दिलाएका थिए ।
यता बार्सिलोनाले एथ्लेटिको मड्रिडलाई २–१ ले हरायो । बार्सिलोनाको जितमा राफिन्हा र कप्तान लियोनल मेसीको गोल सामेल थियो ।
घरेलु मैदान स्टाडियो भिसेन्ट काल्डेरनमा खेलेको एथ्लेटिकोका लागि डिएगो गोडिनले सान्त्वना गोल फर्काए ।
यो खेलपछि बार्सिलोनाले जिते पनि हार नजिक पुगेर खेलमा फर्किएको रियाललाई पछाडि पार्ने सपना भने चकनाचुर भएको छ ।
यदि बार्सिलोनाको जित हुँदा रियालले हारेको भए बार्सिलोेना लिग तालिकाको शीर्ष स्थानमा पुग्ने थियो ।
२३ खेलबाट रियालको ५५ अंक छ भने एक खेल बढी खेलेको बार्सिलोनाको ५४ अंक छ । त्यस्तै सेभियाको ५२ अंक छ ।