संसद् राष्ट्रिय राजनीतिको ऐना, सभामुखले अभिभावकीय भूमिका खेल्नुपर्छ: ज्येष्ठ सदस्य केसी [भिडियो]
संसद बैठक निर्विघ्न चलाउँछु
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १९ बिहिबार
653
Shares
काठमाडौँ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले संसद् राष्ट्रिय राजनीतिको ऐना भएको बताउँदै लोकतन्त्र र मुलुकको सार्वभौमिकताको रक्षार्थ सभामुख र संसद्ले जिम्मेवार भूमिका खेल्नुपर्नेमा जोड दिएका छन्। उनले संसद् विभिन्न विचारधाराको संगमस्थल भएकाले यहाँ मतभेद र तिक्तता देखिनु स्वाभाविक भए पनि संवाद र निष्कर्षमा पुग्नु नै लोकतन्त्रको वास्तविक सौन्दर्य भएको उल्लेख गरे।
आजको बैठक सञ्चालन गर्नुअघि केसीले सभामुखको निर्वाचन नहुँदासम्म आफूले तटस्थ, प्रभावकारी र निर्विघ्न रूपमा संसद् सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्। सर्वदलीय बैठकमा सबै राजनीतिक दलहरूले संसद्लाई सुचारु रूपले अघि बढाउन एकमत जाहेर गरेको उल्लेख गर्दै उनले आजको बैठक विवादरहित हुने विश्वास व्यक्त गरे। संसद्ले देशको राजनीतिक संस्कारको प्रतिनिधित्व गर्ने भएकाले सभामुखले त्यसको संरक्षक र प्रवक्ताका रूपमा काम गर्नुपर्ने उनको भनाइ छ।
केसीले संविधानको रक्षा र जनताको सर्वोच्चताका लागि सरकारले गर्ने असल काममा सबै दलको सहयोग हुनुपर्ने बताए। संख्यात्मक शक्तिको खेलभन्दा पनि जनताको स्वाभिमान, सुशासन र समृद्धिलाई केन्द्रमा राखेर सरकार सञ्चालन हुनुपर्नेमा उनले जोड दिए। जनताको उच्च आकांक्षासहित वर्तमान सरकार र संसद् गठन भएको उल्लेख गर्दै उनले मुलुकमा राजनीतिक अस्थिरता निम्तिन नदिन सबै पक्ष जिम्मेवार हुनुपर्ने धारणा राखे।
विशेष गरी भ्रष्टाचार नियन्त्रण र सुशासन अहिलेको प्रमुख आवश्यकता भएको बताउँदै उनले नीतिगत भ्रष्टाचार अन्त्य गर्न सरकारलाई आग्रह गरे। भ्रष्टाचारमा संलग्नहरूलाई कारबाही गर्दा कुनै आग्रह-पूर्वाग्रह नराखी विधिको प्रक्रिया पालना गर्नुपर्ने उनको चेतावनी छ। उनले भने, "विधि पालना गर्दा प्रक्रियालाई पन्छाएमा विधिहीनता निम्तिन्छ, त्यसैले सरकारले गर्ने सही काममा संसद्ले सहयोग गर्छ र कमजोरी हुँदा रचनात्मक आलोचना गर्नुपर्छ।" आजको प्रतिनिधि सभा बैठक ज्येष्ठ सदस्यको हैसियतमा केसीले नै सञ्चालन गर्नेछन्।