राजश्व चुहावट नियन्त्रणमा सरकार आक्रामक, अर्थ मन्त्रालयमा उच्चस्तरीय बैठक
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १९ बिहिबार
680
Shares
काठमाडौँ । मुलुकमा भइरहेको राजश्व चुहावट नियन्त्रण गर्न र अवैध गतिविधिमाथि कडाइ गर्ने उद्देश्यले अर्थ मन्त्रालयमा ‘उच्चस्तरीय केन्द्रीय राजश्व चुहावट नियन्त्रण समिति’को बैठक बसेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अध्यक्षतामा बसेको बैठकमा राजश्व प्रशासनलाई चुस्त बनाउने र चोरी पैठारी नियन्त्रण गर्ने विषयमा केन्द्रित रहेर घनीभूत छलफल भएको छ।
बैठकमा गृहमन्त्री सुधन गुरुङको समेत उपस्थिति रहे । जसले राजश्व चुहावट नियन्त्रणमा गृह र अर्थ मन्त्रालयबीचको समन्वयलाई थप मजबुत बनाउने संकेत गरेको छ। बैठकमा प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय र राजश्व प्रशासनका सचिवहरूका साथै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरूको समेत सहभागिता रहेको थियो। विशेषगरी सीमा नाकाबाट हुने चोरी पैठारी, राजश्व छली र विद्यमान कानुनको प्रभावकारी कार्यान्वयनका विषयमा बैठकमा गम्भीर समीक्षा भएको छ।
अर्थमन्त्री डा. वाग्लेले राजश्व संकलनमा देखिएका चुनौतीहरू समाधान गर्न र चुहावट रोक्न सम्बन्धित महाशाखा तथा विभागका प्रमुखहरूलाई कडा निर्देशन दिएका छन्। राजश्व चुहावट नियन्त्रणमा सुरक्षा निकायको भूमिकालाई कसरी अझ प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा पनि सुरक्षा प्रमुखहरूसँग परामर्श भएको छ।