स्थिति बिग्रिएपछि इरानले गर्यो हर्मुज जलमार्ग पुनः बन्द
तेल ट्याङ्करहरू बीच बाटोबाटै फर्किए
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २६ बिहिबार
2.2k
Shares
काठमाडौं । संयुक्त राज्य अमेरिका र इरानबीच भएको युद्धविराम लगत्तै स्थिति पुनः बिग्रिएपछि इरानले तेल आपूर्तिका लागि विश्वकै महत्त्वपूर्ण मानिने 'स्ट्रेट अफ हर्मुज' जलमार्ग पूर्ण रूपमा बन्द गरिदिएको छ।
लेबनानमा इजरायलले गरेको भीषण हवाई आक्रमणमा कम्तीमा २५४ जनाको मृत्यु भएपछि त्यसको कडा प्रतिक्रियास्वरूप इरानले यो कदम चालेको हो। यससँगै खाडी क्षेत्रबाट बाहिर निस्कन लागेका थुप्रै तेल ट्याङ्करहरू बीच बाटोबाटै फर्केर पर्सियन खाडीको भित्री भागमै रहन बाध्य भएको इरानको सरकारी सञ्चारमाध्यम प्रेस टिभीले जनाएको छ।
यसअघि मंगलबार भएको दुई हप्ता लामो युद्धविरामपछि बुधबार बिहान ग्रीसको 'एनजे अर्थ' र लाइबेरियाको 'डेटोना बीच' नामक दुई जहाजले पहिलो पटक यो जलमार्ग पार गर्न सुरु गरे तापनि इजरायली आक्रमणले स्थिति अचानक तनावपूर्ण बनाएको हो।
सिपिङ एनालिटिक्स फर्म केप्लरको रिपोर्ट अनुसार यस क्षेत्रमा १८७ वटा तेल ट्याङ्करसहित १,००० भन्दा बढी जहाजहरू बाटो खुल्ने पर्खाइमा रहेका छन्, जसलाई सामान्य अवस्थामा पनि बाहिर निस्कन दुई हप्ताभन्दा बढी समय लाग्ने देखिएको छ।
यसैबीच इरानको पोट्र्स एण्ड म्यारिटाइम अर्गनाइजेसनले सुरक्षित नेभिगेसन चार्ट जारी गर्दै सबै जहाजहरूलाई समुद्री बारुदी सुरुङको जोखिमबाट बच्न तोकिएको मार्ग कडाइका साथ पालना गर्न सचेत गराएको छ। विश्वको कुल तेल आपूर्तिको ठूलो हिस्सा यही जलमार्ग भएर जाने भएकाले यसको बन्दले विश्वव्यापी तेल बजार र आपूर्ति शृङ्खलामा गम्भीर संकट निम्त्याउने अनुमान गरिएको छ।