निर्माण व्यवसायीलाई धम्काएर पैसा असुल्नेलाई तत्काल कारबाही गर्न गृहमन्त्रीको निर्देशन [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २९ आइतबार
543
Shares
काठमाडौँ । निर्माणाधीन नागढुङ्गा–मुग्लिङ सडकको अनुगमनमा निस्किएका गृहमन्त्री सुधन गुरुङसँग निर्माण व्यवसायीहरूले सुरक्षाको माग गरेका छन्। आयोजना स्थलमा काम गर्दा स्थानीय स्तरबाट अनेक बहानामा अवरोध हुने गरेको भन्दै व्यवसायीहरूले सुरक्षाको प्रत्याभूति खोजेका हुन्।
नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष शहदेव खड्काले देशैभरका आयोजनाहरूमा अनधिकृत व्यक्तिहरूले काम रोक्ने गरेको गुनासो गृहमन्त्री समक्ष राखे। उनले काममा अवरोध पुर्याउनेहरूलाई सार्वजनिक मुद्दा लगाएर २४ घण्टाभित्र कारबाही गर्ने कानुनी व्यवस्था मिलाउन माग गरे। "सडक निर्माण सम्पन्न भएर हस्तान्तरण गरेको ५ वर्षसम्म मर्मतको जिम्मा हामीले नै लिन्छौँ, तर काम गर्ने वातावरण सुरक्षित हुनुपर्छ," खड्काले भने।
उनले निर्माण सामग्रीको अभावका कारण लक्ष्यअनुसार काम हुन नसकेको जानकारी दिँदै आफ्नै जग्गाबाट सामग्री निकाल्दा समेत मुद्दा लड्नुपरेको पीडा सुनाए। सडक निर्माणको सिजन अब २ महिना मात्र बाँकी रहेकाले बिटुमिन र पेट्रोलियम पदार्थको सहज उपलब्ध गराउन समेत उनले आग्रह गरे।
गृहमन्त्री गुरुङले पूर्वाधार क्षेत्रमा काम गर्ने व्यवसायीमाथि हुने धरपकड र चन्दा असुली कुनै पनि हालतमा सह्य नहुने बताए। उनले निर्माण व्यवसायीलाई थर्काउने र धम्काउनेहरूको पहिचान गरी तत्काल कारबाही गर्न प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला प्रहरी प्रमुखलाई निर्देशन दिए।
"अनुगमनका क्रममा ठेकेदारसँग पैसा उठाउने र दुःख दिने गरेको सुनिन्छ, जसले गर्दा निर्माणमा ढिलासुस्ती हुने गरेको छ," मन्त्री गुरुङले भने, "जसले पैसा असुली गर्छ, उसलाई प्रशासनले नियन्त्रणमा लिनुपर्छ। यदि यस्ता उजुरी मन्त्रालयमा आयो भने सम्बन्धित सीडीओलाई नै कारबाही हुन्छ।"
उनले एक जनाले धम्काएकै भरमा आयोजनाको काम रोकिने अवस्थाको अन्त्य गर्ने आश्वासन दिँदै शान्ति सुरक्षा बिना विकासले गति लिन नसक्ने स्पष्ट पारे। अन्तर-मन्त्रालय समन्वयमार्फत रोकिएका कामहरू सुचारु गराउन आफू प्रतिबद्ध रहेको समेत उनले बताए।