काठमाडौ । कन्चनपुरको महेन्द्रनगरमा भईरहेको नेपाल जेसीजको ४२औ राष्ट्रिय महाधिवेशनमा नेतृत्वका लागि युवाहरुका विचमा घम्साघम्सी भईरहेको छ ।
एक बर्षे कार्यकाल रहने विशिष्ट व्यवस्था भएको जेसीजको नयाँ अध्यक्षका लागि अहिले सम्म तिन जनाको नाम चर्चामा रहेको छ ।
नेपाल जेसीजको पुर्वकार्यकारिणी उपाध्यक्ष समेत भईसकेका अहिलेका महासचिव जगत पोख्रेल सवै भन्दा प्रभावशाली उमेदवारको रुपमा देखिएका छन् । बर्तमान अध्यक्ष धनन्जयकुमार श्रेष्ठ सहित अधिकाँश पुर्वअध्यक्षहरुको समर्थन रहेको र यसअघि पनि अध्यक्षका लागि केही मतले पछाडी परेकाले पोख्रेललाई अहिले सवै भन्दा बलियो उमेदवारको रुपमा हेरिएको छ ।
त्यसैगरी जेसीजकै पुर्वमहासचिव तथा पुर्वकार्यकारिणी उपाध्यक्ष निशान्त आचार्य र पुर्वकार्यकारिणी उपाध्यक्ष संगीता पौडेल पनि अध्यक्षका लागि चुनावी मैदानमा रहेका छन् ।
पोख्रेल बुटवलका हुन भने आचार्य दाङ र पौडेल पोखराका हुन् ।
लोकतन्त्रवादी युवाहरुको बाहुल्यता रहेको जेसीजको नेतृत्व हात पार्न तिन ओटै उमेदवारहरुले आफुलाई लोकतन्त्रवादी पक्षधर उमेदवारको रुपमा दावी गर्दै आएका छन् ।
हरेक बर्ष एक एक बर्षे कार्यकालका लागि निर्वाचन हुनु, एउटै पदमा एक भन्दा बढी कार्यकाल रहन नपाउनु, शासन व्यक्तिको होईन विधिको भन्ने आस्था राख्नु लयायतले जेसीजलाई विश्वभरी नै लोकतन्त्रवादी युवाहरुको संस्थाको रुपमा चिनिन्छ ।
हिजो शुक्रवार देखि सुरु भएको महाधिवेशनमा आज शनिवार अपराहन्न उमेदवारहरुले आ आफ्ना चुनावी एजेण्डाहरु प्रस्तुत गर्ने समारोह आयोजना गरिदैछ ।
नयाँ नेतृत्वका लागि निर्वाचन भने भोली आईतवार हुने तय भएको छ । देशभरी एक सय ३७ ओटा शाखा रहेको नेपाल जेसीजको यस पटकको महाधिवेशनमा मतदाताको संख्या १९ सय ९९ पुगेको छ । यस पटक विद्युतीय मतदानको व्यवस्था गरिएको छ ।
महाधिवेशनबाट अध्यक्ष बाहेक केही कार्यकारिणी उपाध्यक्ष र राष्ट्रिय उपाध्यक्षहरु पनि निर्वाचीत गरिने छ । जेसीजको महासचिव, कोषाध्यक्ष, कानुनी सल्लाहकार सहित केही पदहरुमा भने निर्वाचीत अध्यक्षले मनोनयन गर्ने व्यवस्था छ ।
नयाँ निर्वाचित अध्यक्ष सहितका पदाधिकारीहरुले सन् २०१६ जनवरी १ देखि कार्यआरंभ गर्नेछन् र डिसेम्बरमा कार्यकाल सकिनेछ ।