एनआईसी एशिया बैङ्कद्वारा सम्पत्ति लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी अनलाइन पोर्टलमा उपलब्ध
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ४ शुक्रबार
531
Shares
तस्बिर : फाइल
काठमाडौँ। एनआईसी एशिया बैङ्क लिमिटेडले आफ्नो नाममा रहेका बैङ्किङ सम्पत्तिहरू, गैर बैङ्किङ सम्पत्तिहरू तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी उपलब्ध गराउने उद्देश्यले अनलाइन पोर्टल सार्वजनिक गरेको छ।
बैङ्कले सञ्चालनमा ल्याएको यस अनलाइन पोर्टलमार्फत लिलाम बिक्रीका लागि राखिएका सम्पत्तिहरूको सम्पूर्ण सूचना समेटिएको छ। ग्राहकहरूले लिलाम बिक्री सम्बन्धी प्रकाशित सूचनामा रहेको क्युआर कोड स्क्यान गरी पोर्टलमा प्रवेश गर्न सकिने बैङ्कले जनाएको छ। उक्त पोर्टलमा लिलाममा रहेका सम्पत्तिहरूको कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा तथा सम्पत्तिको स्थान पहिचानका लागि गुगल म्यापसहितका विविध जानकारी उपलब्ध छन्।
खरिद गर्न चाहने ग्राहक महानुभावहरूले कुनै सम्पत्तिबारे थप जानकारी लिन आवश्यक भए सो सम्पत्तिको विवरण रहेको ठाउँमा उपलब्ध म्यासेज बक्समा आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर र सम्पर्क ठेगाना उल्लेख गरी म्यासेज पठाउन सकिने छ।
बैङ्कले यो अनलाइन पोर्टलमा नियमित रूपमा बैङ्किङ सम्पत्ति, गैर बैङ्किङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्री सम्बन्धी सूचनाहरू प्रकाशित गर्दै आएको छ। खरिद इच्छुक ग्राहकहरूले लिङ्कमार्फत बिक्री हुने सम्पत्तिहरूको विस्तृत विवरण प्राप्त गरी लाभ लिन सक्नुहुनेछ भन्ने बैङ्कको विश्वास छ।