गृहमन्त्री गुरुङको बर्खास्तगी र कारबाही माग गर्दै जेनजी मुभमेन्ट नेपालद्वारा प्रेस वक्तव्य जारी
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ७ सोमबार
1.2k
Shares
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङमाथि लागेका गम्भीर आरोपहरूको विषयलाई लिएर जेनजी मुभमेन्ट नेपालले सरकारको कडा ध्यानाकर्षण गराएको छ। संगठनले आइतबार एक प्रेस वक्तव्य जारी गर्दै मन्त्री गुरुङलाई तत्काल पदबाट बर्खास्त गरी पक्राउ गर्न र निष्पक्ष अनुसन्धान प्रक्रिया अघि बढाउन माग गरेको हो।
संगठनका प्रवक्ता विजय शाहद्वारा जारी वक्तव्यमा मन्त्री पदमै बहाल रहेर आफ्नै विरुद्धको छानबिनलाई निष्पक्ष बनाउन असम्भव हुने उल्लेख गरिएको छ। यसले स्पष्ट रूपमा 'स्वार्थको द्वन्द्व' सिर्जना गर्ने र कानुनी सिद्धान्त एवं आधारभूत नैतिकताको उल्लंघन हुने संगठनको ठहर छ।
वक्तव्यमा प्रधानमन्त्री वालेन्द्र साह नेतृत्वको सरकारको कार्यशैलीप्रति पनि टिप्पणी गरिएको छ। क्याबिनेट गठनलाई गम्भीर राजनीतिक र नैतिक निर्णयका रूपमा लिनुपर्ने बताउँदै हचुवाको भरमा मन्त्री नियुक्त गर्ने र पछि हटाउने प्रवृत्तिलाई संगठनले अस्वीकार्य भनेको छ। जिम्मेवार नेतृत्वले राजनीतिक परिपक्वता, दूरदर्शिता र जवाफदेहिता प्रदर्शन गर्नुपर्नेमा वक्तव्यमा विशेष जोड दिइएको छ।
वर्तमान सरकार ७६ जना शहीदहरूको बलिदान र जनताको जनादेशबाट बनेको स्मरण गराउँदै संगठनले जनताको त्यागमाथि सस्तो राजनीति नगर्न चेतावनी दिएको छ। सुशासन, पारदर्शिता र जवाफदेहितामा कुनै पनि किसिमको सम्झौता स्वीकार्य नहुने उल्लेख गर्दै न्याय प्रक्रियालाई स्वतन्त्र र दबाबमुक्त राख्न माग गरिएको छ।
पद, शक्ति वा राजनीतिक संरक्षणका आधारमा कसैले पनि उन्मुक्ति पाउन नहुने र दोषी जो-कोही भए पनि कानुनको कठघरामा उभिनुपर्ने जेनजी मुभमेन्ट नेपालको अडान छ।
विवादास्पद व्यापारी दीपक भट्टसँग साझेदारी रहेको विषय सार्वजनिक भएपछि गुरुङ विवादमा तानिएका छन् । उनी विवादमा तानिएका प्रमाण बाहिरिए पनि अहिलेसम्म बालेन सरकारले कुनै कदम चालेको छैन ।
यसअघि विवादमा आएसँगै एक जना मन्त्रीलाई १३ दिनमै हटाएका बालेनले अहिले गृहमन्त्री गुरुङमाथि किन उदारता देखाइरहेका छन् भन्ने प्रश्न खडा भएको छ ।
त्यसैगरी रास्वपा सभापति रवि लामिछानेले पनि कतै निरीहता देखाइरहेका त हैनन् भन्ने प्रश्न उठेको छ ।
झण्डै दुई तिहाई सिट जितेर एकल सरकार बनाएको रास्वपासँग प्रशस्तै विकल्प छन् । तर गृहमन्त्री गुरुङलाई बर्खास्त गर्न नसक्नुमाथिको निरीहताबारे सम्भवतः सोमबारको रास्वपा बैठकले निचोड निकाल्ने अपेक्षा गरिएको छ ।