काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन्। बुधबार सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै उनले पछिल्लो समय आफ्नो सेयर कारोबार लगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई सम्बोधन गर्न पद त्याग गर्ने निर्णय लिएको जानकारी दिएका हुन्।
गत चैत १३ गतेदेखि गृहमन्त्रीको कार्यभार सम्हालेका गुरुङले पदभन्दा नैतिकता र जनविश्वासलाई सर्वोपरि ठानेर यो कदम चालेको स्पष्ट पारेका छन्।
उनले आफ्नो राजीनामा पत्रमा देशमा भएको 'जेन-जी आन्दोलन'ले उठाएको सुशासन, पारदर्शिता र जवाफदेहिताको मागलाई सम्मान गर्दै सार्वजनिक जीवन स्वच्छ हुनुपर्ने धारणा राखेका छन् ।
"मेरा ४६ जना भाइ–बहिनीहरूको रगत र बलिदानीको आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो," उनले लेखेका छन्।
आफूसँग सम्बन्धित विषयमा हुने छानबिन निष्पक्ष होस् र पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखियोस् भन्नका लागि आफूले राजीनामा दिएको उनले बताएका छन्।
गुरुङले सञ्चारकर्मी, युवा र सर्वसाधारणलाई सम्बोधन गर्दै वास्तविक परिवर्तनका लागि त्याग र नैतिक साहस आवश्यक हुने उल्लेख गरेका छन्।
उनले सबै पक्षलाई सत्य र इमानदारीको मार्गमा उभिन आग्रह गर्दै आफ्नो यो कदमलाई नैतिक जिम्मेवारीको निर्वाहका रूपमा व्याख्या गरेका छन्। उनको राजीनामासँगै अहिलेको राजनीतिक वृत्तमा नैतिकता र जवाफदेहिताको विषयमा नयाँ बहस शुरू भएको छ।
यसअघि प्रधानमन्त्री वालेन्द्र साह बालेनले नैतिकताको प्रश्न उठेसँगै दीपक साहलाई मन्त्रीबाट १३ दिनमै हटाएका थिए । यसपटक बालेनले हटाएको नभइ गुरुङ आफैँले राजीनामा दिएका हुन् ।
उनले आफूले सार्वजनिक गरेको सम्पत्ति विवरण बाहेकमा पनि विवादास्पद व्यवसायी दीपक भट्टसँग जोडिएको शेयर कारोबार सार्वजनिक भएको थियो । उनले आफूले स्पष्टीकरण दिँदासमेत यो कुरालाई लुकाएका थिए ।
बालेन सरकारका सदस्यहरूले सार्वजनिक गरेको सम्पत्ति विवरणबाटै उनीहरूप्रति हेर्ने दृष्टिकोण मतदाताको बदलिन थालेको छ । मन्त्री गुरुङले जस्तै अन्य मन्त्रीहरूलेसमेत सम्पत्ति विवरण लुकाएको हुनसक्ने शंका बढेको छ ।
यस्तो छ सामाजिक सञ्जालमा सुधन गुरुङले लेखेको राजीनामाको जानकारी
म, सुदन गुरुङ, मिति २०८२ चैत १३ गतेदेखि गृह मन्त्रीको जिम्मेवारीमा इमानदारीपूर्वक काम गर्दै आएको छु। पछिल्ला दिनहरूमा नागरिक स्तरबाट मेरो शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु।
मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन। आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको Gen Z आन्दोलनले पनि यही सन्देश दिएको छ सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ।मेरा ४६ जना भाइ बहिनिहरुको रगत र बलिदानी को आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो।
त्यसैले, मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा conflict of interest नदेखियोस र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु।
मैले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु। अब मेरो अपिल छ, प्रिय सञ्चारकर्मी मित्रहरू, आम नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरू, यदि हामी साँच्चै परिवर्तन चाहन्छौँ भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ।कति मिडियाकर्मी साथी हरु को कहा कहा स्वीट शेयर छ बिस्तारै आउला, रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ।
For my country and For the respect of our security forces and For the youths of Nepal