हर्मुज जलमार्गको बारुदी सुरुङ हटाउन छ महिना लाग्ने, विश्व ऊर्जा बजार अझै अनिश्चित
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १० बिहिबार
717
Shares
काठमाडौँ । विश्व ऊर्जा आपूर्तिको मेरुदण्ड मानिने हर्मुज जलमार्गमा बिछ्याइएका समुद्री बारुदी सुरुङ (माइन्स) हटाउन कम्तीमा छ महिना लाग्न सक्ने अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) को मूल्याङ्कन सार्वजनिक भएको छ। यसले जारी युद्ध अन्त्य भए पनि विश्वव्यापी ऊर्जा बजार तत्काल स्थिर नहुने र तेल–ग्यासको आपूर्तिमा लामो समयसम्म अवरोध कायम रहने सङ्केत दिएको छ।
अमेरिकी संसद्को 'हाउस आर्म्ड सर्भिस कमिटी' का सदस्यहरूलाई दिइएको गोप्य ब्रिफिङमा इरानले उक्त जलमार्गमा २० भन्दा बढी अत्याधुनिक बारुदी सुरुङ राखेको हुन सक्ने जानकारी दिइएको छ। केही सुरुङहरू टाढैबाट सक्रिय गर्न सकिने प्रविधियुक्त भएकाले तिनलाई पहिचान गरी निष्क्रिय पार्न अत्यन्त कठिन र समयसाध्य हुने देखिएको छ। यद्यपि, पेन्टागनका प्रवक्ता सीन पार्नेलले भने यी विवरणहरू पूर्ण सत्य नभएको दाबी गरेका छन्।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले करिब १ हजार ४०० वर्गकिलोमिटर क्षेत्रलाई ‘खतराको क्षेत्र’ घोषणा गरेको छ। यो क्षेत्रफल फ्रान्सको राजधानी पेरिसको आकारभन्दा १४ गुणा ठूलो हो। विश्वको करिब पाँचौँ भाग तेल र ग्यास यही मार्ग हुँदै ढुवानी हुने भएकाले अन्तर्राष्ट्रिय ढुवानी कम्पनीहरूले अहिले वैकल्पिक मार्ग खोज्न थालेका छन्। जर्मनीको 'हपाग–लोयड' जस्ता ठूला कम्पनीहरूले स्पष्ट र सुरक्षित मार्ग नभएसम्म जहाज पठाउन जोखिमपूर्ण रहेको बताएका छन्।
इरानले अमेरिकी नौसैनिक नाकाबन्दी कायम रहेसम्म होर्मुज नखोल्ने अडान दोहोर्याउँदै आएको छ। अर्कातर्फ, अमेरिकाले पनि नाकाबन्दी खुकुलो पारेको छैन। युद्धविरामका बेला केही समय जलमार्ग आंशिक खुले पनि आक्रमण र बारुदी सुरुङको त्रासले जहाजहरूको आवतजावत अत्यन्तै न्यून रहेको छ। युद्ध पूर्ण रूपमा समाप्त नभएसम्म सुरुङ सफा गर्ने अभियान सुरु हुने सम्भावना निकै कम देखिएको छ।
यस गम्भीर समस्याको निकास खोज्न बेलायत र फ्रान्सको पहलमा लन्डनमा ३० भन्दा बढी देशका सैन्य योजनाकारहरूबीच बहुराष्ट्रिय वार्ता भइरहेको छ। उक्त छलफलमा युद्धपछिको समयमा होर्मुजलाई पुनः सञ्चालनमा ल्याउन र बारुदी सुरुङ हटाउन एक ‘रक्षात्मक गठबन्धन’ बनाउने योजनाबारे बहस भइरहेको छ।
अहिलेको अवस्थाले के प्रष्ट पार्छ भने, युद्धको मैदानमा हतियार बिसाइए पनि विश्व अर्थतन्त्रलाई चलायमान बनाउने यो समुद्री मार्ग पूर्ण रूपमा सुरक्षित हुन अझै धेरै महिना कुर्नुपर्नेछ।