arrow

संविधान संशोधन विधेयक प्रक्रिया बढाउँदै समस्या समाधान गर्न काँग्रेस–माओवादी सहमत

logo
प्रकाशित २०७२ पुष ११ शनिबार
dahal-niwas.jpg.jpeg
काठमाडौँ । संविधान संशोधन र तराई मधेसमा आन्दोलनरत मधेसवादी दलले उठाएका माग सम्बोधन गर्ने विषयमा केन्द्रित रहेर प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र एकीकृत नेकपा(माओवादी)बीच छलफल भएको छ । 

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा शनिवार भएको द्विपक्षीय छलफलमा मधेसवादी दललाई समेत सहमतिमा ल्याएर संविधान संशोधन विधेयकलाई अगाडि बढाउने र मुलुकले भोगिरहेको समस्या समाधान गर्न दुवै पक्ष सहमत भएका छन् । 

व्यवस्थापिका–संसद्को बैठक आइतबार बोलाइएको छ । बैठक अगावै एउटा सहमतिमा पुग्ने उद्देश्यका साथ छलफल भएको बैठकमा सहभागी नेताले जानकारी दिनुभएको छ । उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका अध्यक्ष दाहालको सक्रियतामा मधेसी मोर्चालाई सहमतिमा ल्याउने प्रयत्न भइरहेको छ । 

काँग्रेस नेतृत्वको सरकारले सदनमा पेस गरेको संशोधन विधेयकको भाषा मिलाएर भए पनि सहमति गरेर जाने मनसायमा प्रमुख दलहरु रहेका छन् । बैठकमा सहभागी काँग्रेस महामन्त्री प्रकाशमान सिंहकाअनुसार मधेसवादी दलले उठाएको विषयमा साझा धारणा बनाएर जाने विषयमा प्रमुख दुई दलबीच छलफल भएको हो । 

जति सक्दो छिटो ठोस निष्कर्षमा पुग्ने सहमति भएको उल्लेख गर्दै उनले शनिवारै अपराह्न ३ बजे काँग्रेस र मोर्चाबीच छलफल हुने र साँझ पुनः काँग्रेस, एमाओवादी र मोर्चाबीच त्रिपक्षीय छलफल गर्ने सहमति समेत भएको बताए । काँग्रेससँगको छलफलमा एमाओवादी अध्यक्ष दाहालले लामो समयसम्म मुलुकलाई अप्ठ्यारो अवस्थामा राख्न नहुने भएकाले प्रमुख दलले कुनै न कुनै समाधान निकाल्नुपर्ने र त्यसमा काँग्रेसको सहयोगको अपेक्षा गरेका थिए ।

मोर्चाले उठाउँदै आएको सीमाङ्कनका विषयमा फराकिलो आधार तयार पार्दै राजनीतिक समितिमार्फत अगाडि बढ्नुपर्नेमा जोड दिएका अध्यक्ष दाहालका सहयोगी शिव खकुरेलले जानकारी दिए । छलफलमा काँग्रेस र एमाओवादीका शीर्ष नेताको सहभागिता रहेको थियो । 

अध्यक्ष दाहालले शुक्रबार पनि काँग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला, नेकपा(एमाले)का नेता माधवकुमार नेपाल तथा सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग छुट्टाछुट्टै छलफल गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ