काठमाडौँ। आज विश्व हाँसो दिवस । हाँसोको महत्त्व सम्झाउने, जीवनका कठिन क्षणहरूमा पनि आशा जगाउने दिन ।
संयोग नै भनौँ यही दिनसँगै नेपालमा एक यस्तो सन्देश जोडिएको छ, जसले हजारौँ सहकारी पीडितहरूको अनुहारमा फेरि मुस्कान फर्काउने अपेक्षा जगाएको छ ।
करीब एक महिना आठ दिनअघि वालेन्द्र साह(बालेन) नेतृत्वमा गठन भएको सरकारले सय बुँदे शासकीय सुधार कार्यसूची सार्वजनिक गर्यो ।
तीमध्ये ९९औँ बुँदामा सहकारीका साना बचतकर्ताहरूको बचत फिर्ता प्रक्रिया सय दिनभित्र शुरू गर्ने प्रतिबद्धता समावेश छ। वर्षौँदेखि अन्योल, पीडा र निराशामा बाँचेका बचतकर्ताका लागि यो केवल नीति घोषणा होइन आशाको पुनर्जागरण हो ।
सरकारले समस्याग्रस्त सहकारी संस्थाहरूको बचत फिर्ता सुनिश्चित गर्न ‘चक्रीय कोष स्थापना तथा सञ्चालन सम्बन्धी कार्यविधि, २०८३’ जारी गरिसकेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमार्फत राजपत्रमा प्रकाशित यो कार्यविधिले सहकारी पीडितहरूको पक्षमा ठोस आधार तयार गरेको छ ।
यस कार्यविधिअनुसार समस्याग्रस्त सहकारी व्यवस्थापन समितिअन्तर्गत एक चक्रीय कोष रहनेछ, जसमा नेपाल सरकारबाट प्राप्त रकम, संस्थाको सम्पत्ति बिक्रीबाट आएको रकम, तथा अपचलनमा संलग्न व्यक्तिहरूबाट अशुल गरिएको धनराशि जम्मा गरिनेछ। अझ महत्वपूर्ण कुरा यदि यतिले पनि बचतकर्ताको रकम फिर्ता गर्न पर्याप्त नहुने अवस्था आयो भने, दोषी व्यक्तिहरूले अन्य माध्यमबाट हस्तान्तरण गरेका सम्पत्तिसमेत रोक्का गरेर लिलाम गर्न सकिने व्यवस्था गरिएको छ ।
यो व्यवस्थाले स्पष्ट सन्देश दिन्छ अब अन्याय लुकाएर बस्न पाइँदैन। सहकारीको नाममा सर्वसाधारणको पसिना र भविष्यसँग खेलबाड गर्नेहरूलाई कानूनको कठघरामा ल्याइनेछ ।
बचत फिर्ता प्रक्रिया पारदर्शी र व्यवस्थित बनाउने उद्देश्यले दाबी निवेदन दिएका बचतकर्ताहरूलाई बैंक खातामार्फत रकम फिर्ता गरिनेछ ।
सहकारी समस्याग्रस्त घोषणा हुनुअघि सम्मको अभिलेखलाई आधार मानेर रकम निर्धारण गरिने व्यवस्था गरिएको छ, जसले अनियमितता र दोहोरो दाबीलाई नियन्त्रण गर्नेछ ।
वर्षौंदेखि आफ्नै पैसाका लागि सडकमा संघर्ष गरिरहेका नागरिकहरूका लागि यो कदम केवल आर्थिक राहत मात्र होइन यो विश्वासको पुनर्स्थापना हो । राज्यप्रति भरोसा हराउँदै गएको समाजमा यस्तो पहलले नयाँ ऊर्जा भर्न सक्छ ।
आज, जब संसार विश्व हासो दिवस मनाइरहेको छ, नेपालमा पनि एउटा सन्देश गुञ्जिन थालेको छ, ‘अब हाँस्ने पालो सहकारी पीडित’को पनि आएको छ ।
यदि यी नीतिहरू प्रभावकारी रूपमा कार्यान्वयन भए, भने त्यो दिन टाढा छैन, जब सहकारी पीडितहरूको अनुहारमा फक्रिने मुस्कानले सिंगो देशलाई उज्यालो बनाउनेछ । त्यसैले आजको दिन केवल औपचारिक हाँसोको दिन मात्र होइन यो आशाको हाँसो हो । यो न्यायको हाँसो हो । र सम्भवतः अब साँच्चै, हाँस्छन् सहकारी पीडित ।
वर्षौंदेखि सहकारीको नाममा ठगिएका, आफ्नै बचतका लागि सडकमा संघर्ष गर्न बाध्य भएका हजारौँ नागरिकका लागि अब एक नयाँ अध्याय शुरू हुने संकेत देखिएको छ । अब उनीहरू हाँस्ने छन् र त्यो हाँसो केवल भावनात्मक राहत होइन, न्याय प्राप्तिको हाँसो हुनेछ ।