अमेरिकासँगको द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २० आइतबार
445
Shares
काठमाडौँ । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले तयार गरिएको नयाँ प्रस्तावबारे एसिया र युरोपका विभिन्न देशका आफ्ना समकक्षीहरूसँग जानकारी आदानप्रदान गरेका छन्।
शुक्रबार र शनिबार भएका छुट्टाछुट्टै टेलिफोन वार्ताहरूमा उनले टर्कीए, कतार, साउदी अरेबिया, इजिप्ट, इराक, अजरबैजान, रुस, दक्षिण कोरिया, जापान, फ्रान्स र इटाली लगायत देशका अधिकारीहरूसँग क्षेत्रीय अवस्थाबारे छलफल गरे। सो क्रममा वासिङ्टनसँगको सम्भावित युद्धविरामका विषयमा पनि कुराकानी भएको र युरोपेली सङ्घका परराष्ट्र नीतिसम्बन्धी प्रमुखसँग समेत परामर्श गरिएको जनाइएको छ।
इरानको विदेश मन्त्रालयद्वारा जारी वक्तव्यअनुसार अराघचीले अमेरिकी तथा इजरायली सैन्य गतिविधिहरूले फारसको खाडी र होर्मुज जलमार्ग क्षेत्रमा असुरक्षा बढाएको बताए। उनले इरानले युद्ध सुरु नगरेको दाबी गर्दै संयुक्त राज्य अमेरिकाले आफ्नो कडा नीति, धम्कीपूर्ण अभिव्यक्ति तथा उक्साउने कार्यहरू त्यागेमा इरान कूटनीतिक समाधानका लागि खुला रहेको स्पष्ट पारे।
उनले इरानका सशस्त्र बलहरू कुनै पनि सम्भावित खतराको सामना गर्न पूर्ण रूपमा तयार रहेको समेत उल्लेख गरे। साथै, केही क्षेत्रीय देशहरूले कूटनीतिक पहललाई प्रोत्साहन दिँदै तनाव बढ्न नदिन खेलेको ‘रचनात्मक भूमिका’ को उनले प्रशंसा गरे।
गत फेब्रुअरी २८ मा इजरायल र संयुक्त राज्य अमेरिकाले तेहरानसहितका विभिन्न सहरहरूमा गरेको संयुक्त आक्रमणमा इरानका तत्कालीन सर्वोच्च नेता अली खामेनी र उच्च सैनिक कमाण्डरहरूको ज्यान गएपछि क्षेत्रीय तनाव उत्कर्षमा पुगेको थियो। त्यसको जवाफमा इरानले पनि इजरायल र अमेरिकी स्वार्थ केन्द्रित क्षेत्रमा क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको थियो।
अप्रिल ८ मा युद्धविराम लागू गरिए पनि त्यसपछि इस्लामाबादमा भएको वार्ता कुनै सहमतिमा पुग्न सकेको थिएन। इरानको सरकारी समाचार संस्थाका अनुसार इरानले अहिले नयाँ वार्ता प्रस्ताव पाकिस्तानमार्फत अगाडि बढाएको छ।