arrow

"अमेरिकासँग कि 'खराब सम्झौता' कि 'असम्भव युद्ध'को विकल्प मात्र बाँकी"

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २० आइतबार
iran-irgc.jpg

काठमाडौँ । इरानको शक्तिशाली सैन्य सङ्गठन ‘इस्लामिक रिभोलुसनरी गार्ड कोर’ (आईआरजीसी) ले संयुक्त राज्य अमेरिकासँग अब सीमित विकल्प मात्र बाँकी रहेको दाबी गरेको छ। आइतबार आईआरजीसीको गुप्तचर एकाइले जारी गरेको वक्तव्यअनुसार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब इरानसँग कि त ‘खराब सम्झौता’ गर्नुपर्ने वा ‘असम्भव सैन्य अभियान’ रोज्नुपर्ने परिस्थिति सिर्जना भएको छ।

सामाजिक सञ्जाल ‘एक्स’ मा गरिएको एक पोस्टमार्फत आईआरजीसीले वासिङ्टनको निर्णय लिने दायरा निकै साँघुरिएको उल्लेख गरेको छ। इरानले अमेरिकी सेनालाई इरानी बन्दरगाहमाथिको नाकाबन्दी अन्त्य गर्न एक महिनाको समयसीमा (डेडलाइन) तोकेको खबरहरू सार्वजनिक भएका छन्। तेहरानले अगाडि सारेको १४ बुँदे नयाँ शान्ति प्रस्तावमा होर्मुज जलडमरूमध्य खुला गर्ने र नौसैनिक नाकाबन्दी हटाउने विषयलाई प्राथमिकता दिइएको छ।

आईआरजीसीका अनुसार इरानविरुद्धको अमेरिकी नीतिका सम्बन्धमा चीन, रुस र युरोपको अडानमा आएको परिवर्तनले पनि अमेरिकालाई दबाबमा पारेको छ। “यी सबै घटनाक्रमलाई मध्यनजर गर्दा अब अमेरिकासँग निर्णय लिनका लागि धेरै सीमित र कठिन विकल्पहरू छन्,” वक्तव्यमा दाबी गरिएको छ।

यसैबीच, राष्ट्रपति ट्रम्पले इरानको प्रस्तावलाई समीक्षा गर्ने बताए पनि आफ्नो ‘ट्रुथ सोसल’ प्लेटफर्ममार्फत कडा टिप्पणी गरेका छन्। उनले इरानले विगत ४७ वर्षमा मानवता र विश्वविरुद्ध गरेको कार्यको अझै पर्याप्त मूल्य नचुकाएको भन्दै यो प्रस्ताव स्वीकार्य हुनेमा शङ्का व्यक्त गरेका छन्। फेब्रुअरी २८ मा इरानमाथि भएको संयुक्त आक्रमण र त्यसपछिको तनावपूर्ण परिस्थितिका बीच इरानले यो नयाँ कूटनीतिक कार्ड अगाडि बढाएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ