अमेरिका- इरान युद्ध अन्त्यको नजिक: १४ बुँदे सहमतिपत्र तयार
४८ घण्टाभित्र युद्धविराम र आणविक वार्ताको नयाँ सम्झौता हुने सम्भावना
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २४ बिहिबार
817
Shares
काठमाडौँ । अमेरिका र इरान वर्षौँदेखिको तनाव र युद्धको अवस्था अन्त्य गर्दै आणविक वार्ताको नयाँ मार्गचित्र तय गर्ने बिन्दुको निकै नजिक पुगेका छन्। अमेरिकी वेबसाइट 'एक्सियोस' को रिपोर्ट अनुसार इरानले आगामी ४८ घण्टाभित्रै युद्धविरामका लागि आफ्नो सहमति दिन सक्ने देखिएको छ।
दुवै देशबीच १४ बुँदे समझदारी पत्रको मस्यौदा तयार भइसकेको र यसलाई अन्तिम रूप दिन बाँकी रहे पनि वार्ताको प्रक्रियाले विगतको तुलनामा निकै ठूलो गति लिएको छ।
सहमतिको मस्यौदा अनुसार सबैभन्दा पहिले दुवै देशले औपचारिक रूपमा युद्ध अन्त्यको घोषणा गर्नेछन् र त्यसपछिको ३० दिनसम्म विस्तृत वार्ताको चरण सुरु हुनेछ। उक्त वार्तामा होर्मुज जलसन्धिको सुरक्षा, इरानको आणविक कार्यक्रम र अमेरिकाले लगाउँदै आएका आर्थिक प्रतिबन्धहरूमा ढिलाइ गर्ने जस्ता महत्त्वपूर्ण मुद्दाहरूमा छलफल हुनेछ।
वार्ताका लागि इस्लामावाद वा जेनेभा जस्ता सहरहरूलाई सम्भावित स्थलका रूपमा हेरिएको छ। मस्यौदामा इरानले आफ्नो आणविक कार्यक्रमलाई केही समयका लागि रोक्ने र त्यसको बदलामा अमेरिकाले बिस्तारै प्रतिबन्धहरू हटाउँदै इरानको रोक्का गरिएको अर्बौँ डलर फुकुवा गर्ने उल्लेख छ। साथै, होर्मुज क्षेत्रमा दुवै पक्षले लगाएका विभिन्न प्रतिबन्धहरूमा पनि सहजता प्रदान गरिनेछ।
यद्यपि अहिले मुख्य विवादको विषय आणविक कार्यक्रम रोक्ने समयावधिलाई लिएर देखिएको छ। इरानले यसका लागि ५ वर्षको प्रस्ताव अघि सारेको छ भने अमेरिकाले २० वर्षको अडान राखेको थियो। हाल यी दुईबीचको मध्यमार्गी बाटो खोज्दै १२ देखि १५ वर्षको अवधिका लागि सहमति जुटाउने प्रयास भइरहेको छ। यदि यो सहमति कार्यान्वयनमा आएमा यसले विश्व राजनीति र मध्यपूर्वको शक्ति सन्तुलनमा ठूलो परिवर्तन ल्याउने छ।