arrow

बालेन सरकारको बजेट

संसद्को बजेट अधिवेशन आजदेखि, राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

अपराह्न ४ बजे सङ्घीय संसद्को संयुक्त बैठक बस्ने, राष्ट्रपति पौडेलले संविधानको धारा ९५ बमोजिम सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २८ सोमबार
parliament-82-12-23eee.jpg

काठमाडौँ । सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ। सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेका अनुसार आज अपराह्न ४:०० बजे सङ्घीय संसद्को संयुक्त बैठक बस्ने तय भएको छ।

यस बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९५ बमोजिम सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्। संसद् सचिवालयले सबै सांसदहरूलाई अपराह्न ३:४५ बजेभन्दा अगाडि नै सिंहदरबारस्थित प्रतिनिधिसभाको बहुउद्देश्यीय कक्षमा उपस्थित हुनका लागि आग्रह गरेको छ।

संयुक्त बैठक सुरु हुनुअघि अपराह्न २:०० बजे प्रतिनिधिसभा र राष्ट्रियसभाका छुट्टाछुट्टै बैठकहरू सञ्चालन हुनेछन्। प्रतिनिधिसभाको बैठकमा राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने र मन्त्रिपरिषद् हेरफेरसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचनाबारे सदनलाई जानकारी गराउने कार्यसूची रहेको छ।

साथै, सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने, प्रतिनिधिसभा नियमावली २०७९ को नियम २६० बमोजिम जारी भएको बाधा अड्काउ फुकाउ अनुमोदनका लागि पेस गर्ने र नियमावलीको मस्यौदा प्रस्तुत गर्ने लगायतका कार्यहरू पनि आजै सम्पन्न हुनेछन्।

यस पटकको अधिवेशनमा सरकारले विभिन्न आठवटा महत्त्वपूर्ण अध्यादेशहरू पेस गर्ने तयारी गरेको छ। जसमा सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३ र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) पहिलो संशोधन अध्यादेश २०८३ लगायत रहेका छन्।

यी अध्यादेशहरू प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनमा पेस गरिने जानकारी संसद् सचिवालयले दिएको छ। यो अधिवेशन मुख्य रूपमा आगामी आर्थिक वर्षको बजेट निर्माण र पारित गर्ने प्रक्रियामा केन्द्रित रहनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ