arrow

भारतमा बन्दी बनाइएका नेपालीलाई रिहाइ गर्न माग

logo
प्रकाशित २०७२ पुष ११ शनिबार
Bandi.jpg.jpeg
काठमाडौँ । विभिन्न राजनीतिक दलका नेता,मानवअधिकारकर्मी र अधिवक्ताले संयुक्त रूपमा भारतको हरियाणा राज्यमा बन्दी बनाइएका २४ नेपाली नागरिकलाई तत्काल निःसर्त रिहाइको माग गरेका छन् । सत् साहित्य सेवा समाजले शनिवार यहाँ आयोजना गरेको अन्तरक्रियामा उनीहरूले करिब एक वर्षअघि त्यहाँस्थित सत्लोक आश्रममा आयोजित सत्संगका क्रममा हरियाणाका प्रहरीले अन्यायपूर्ण र अमानवीय रूपमा धरपकड गरी नेपालीलाई कारागारमा बन्दी बनाएको भन्दै जतिसक्दो चाँडो रिहाइ गर्न आग्रह गरेका हुन् ।

अनौपचारिक सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुबोधराज प्याकुरेलले हरियाणाको आश्रममा भएको घटना हरियाणा राज्यले मात्र नभई भारतीय सरकारले नै सुनियोजित ढङ्गबाट गराएको हो भने । आफूभन्दा फरक आस्था भएकै कारण कसैले कसैलाई पनि अमानवीय व्यवहार गर्न नपाइने उनको भनाइ छ । पूर्व सभासद् कुलप्रसाद उप्रेतीले निर्दोष नेपाली भक्तजनमाथि निर्मम यातना दिई धार्मिक आस्थामा बन्दी बनाई कारागार हाल्नु गलत भएको भन्दै रिहाइका लागि सम्पूर्ण नेपाली एक जुट हुनुपर्ने धारणा राखे ।

यसअघि ती बन्दी नेपालीलाई मुक्त गराउन पीडितपरिवार तथा विभिन्न सङ्घ संस्थाले राष्ट्रिय मानवअधिकार आयोग, मावनअधिकारवादी सङ्घ संस्था, परराष्ट्र मन्त्रालय र भारतस्थित नेपाली दूतावास र भारतीय दूतावासमा पटकपटक गुनासो गर्दासमेत सुनुवाई नभएको पीडित परिवारको भनाइ छ । 

कारागारबाट धरौटीमा छुटेका इटहरीका मुकेश कार्कीले कैयौँ परिवारको एक मात्र कमाउने व्यक्ति कारागारमा रहेकाले बिहान बेलुकाको छाक टार्न कठिन भैरहेको छ भने । मानव अधिकारकर्मी भवानी खरेल, वरिष्ठ अधिवक्ता रामकृष्ण काफ्ले, मानव अधिकार सङ्गठनका अध्यक्ष इन्द्रप्रसाद अर्याल र मानव अधिकार पत्रकार सङ्घका अध्यक्ष छत्र शङ्कर लगायतले बन्दी नेपालीलाई तत्काल रिहाइको माग गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ