क्रुज जहाजमा हन्टाभाइरसको त्रास: एक अमेरिकीमा सङ्क्रमण पुष्टि
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २९ मंगलबार
905
Shares
काठमाडौँ । नेदरल्याण्ड्सको ‘एमभी होन्डियस’ नामक क्रुज जहाजमा सवार एक अमेरिकी नागरिकमा घातक हन्टाभाइरसको सङ्क्रमण पुष्टि भएपछि अन्तर्राष्ट्रिय स्वास्थ्य सतर्कता बढाइएको छ। अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभागले आइतबार सार्वजनिक गरेको जानकारी अनुसार उक्त जहाजमा रहेका अर्का एक अमेरिकी यात्रुमा पनि सोही भाइरसको सामान्य लक्षण देखिएको छ।
सङ्क्रमण पुष्टि भएका र आशङ्का गरिएका व्यक्तिसहित जहाजमा रहेका सबै १७ जना अमेरिकी नागरिकलाई अहिले हवाई मार्गमार्फत अमेरिका फर्काइँदैछ। उच्च सुरक्षा सतर्कता अपनाउँदै दुईजना बिरामीलाई विमानभित्रको विशेष ‘बायोकन्टेनमेन्ट युनिट’ मा राखेर ल्याइएको विभागले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी दिएको छ।
उद्धार गरिएका यात्रुहरूलाई सुरुमा ओमाहास्थित नेब्रास्का विश्वविद्यालयको मेडिकल सेन्टरमा रहेको ‘रिजनल इमर्जिङ स्पेसल प्याथोजेन ट्रिटमेन्ट सेन्टर’ मा लगिने तयारी छ। त्यहाँ उनीहरूको विस्तृत स्वास्थ्य परीक्षण र प्रारम्भिक उपचार गरिनेछ भने सामान्य लक्षण देखिएका बिरामीलाई अवस्था हेरेर उनको अन्तिम गन्तव्यमा रहेको अर्को उपचार केन्द्रमा स्थानान्तरण गरिनेछ। पछिल्लो तथ्याङ्कअनुसार यस भाइरसको प्रकोपसँग सम्बन्धित ८ जना शङ्कास्पद बिरामी भेटिइसकेका छन् भने हालसम्म ३ जनाको मृत्यु भइसकेको छ।
अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार हन्टाभाइरसको सङ्क्रमण भएपछि लक्षण देखिन एकदेखि आठ हप्तासम्म लाग्न सक्छ। यो रोग सामान्यतया मुसाजन्य जीवहरूबाट सर्ने भए तापनि विरलै अवस्थामा मानिसबाट मानिसमा पनि सर्न सक्ने चिकित्सकहरूले बताएका छन्। सङ्क्रमितमध्ये एक तिहाइभन्दा बढी व्यक्तिको मृत्यु हुने जोखिम रहने भएकाले यसलाई जनस्वास्थ्यका दृष्टिकोणले निकै घातक मानिएको छ।