arrow

दश महिनामा करिब ६० प्रतिशत बजेट खर्च, पुँजीगत खर्चको अवस्था अझै कमजोर

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १ शुक्रबार
financial-comptroller-general-office-mahalekha-niyantrak.jpg

काठमाडौँ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा नेपाल सरकारको कुल बजेट खर्च वार्षिक विनियोजनको ५९.७५ प्रतिशत पुगेको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार बितेका १० महिनामा सरकारले कुल ११ खर्ब ७३ अर्ब ५२ करोड १ लाख रुपैयाँ खर्च गरेको हो। सरकारले यस आर्थिक वर्षका लागि कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट विनियोजन गरेको थियो।

विभिन्न शीर्षकगत खर्चलाई हेर्दा चालु खर्चको हिस्सा सबैभन्दा बढी देखिएको छ। चालुतर्फ कुल ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ विनियोजन भएकोमा वैशाख मसान्तसम्म ६८.९८ प्रतिशत अर्थात् ८ खर्ब १४ अर्ब ६५ करोड ५५ लाख रुपैयाँ खर्च भएको छ। विकास निर्माणसँग सम्बन्धित पुँजीगत खर्चको अवस्था भने निकै सुस्त देखिएको छ। 

पुँजीगततर्फ विनियोजन गरिएको ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख रुपैयाँमध्ये हालसम्म केवल २७.९१ प्रतिशत अर्थात् १ खर्ब १३ अर्ब ८४ करोड ९२ लाख रुपैयाँ मात्र खर्च हुन सकेको छ। त्यस्तै वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७५ अर्ब २४ करोड २० लाख रुपैयाँ विनियोजन भएकोमा ६५.३० प्रतिशत अर्थात् २ खर्ब ४५ अर्ब १ करोड ५४ लाख रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ।

आम्दानीको पक्षलाई हेर्दा सरकारको प्राप्ति वार्षिक लक्ष्यको ६६ प्रतिशतमा खुम्चिएको देखिन्छ। चालु आर्थिक वर्षमा कुल १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएकामा हालसम्म १० खर्ब १२ अर्ब ५ करोड २४ लाख रुपैयाँ मात्र संकलन भएको छ। यसमध्ये राजस्व असुली वार्षिक लक्ष्यको ६६.६९ प्रतिशत अर्थात् ९ खर्ब ८८ अर्ब ५५ करोड २२ लाख रुपैयाँ रहेको छ। 

साथै वैदेशिक अनुदानतर्फ ५३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँको लक्ष्य राखिएको भए तापनि हालसम्म ३३.२८ प्रतिशत अर्थात् १७ अर्ब ७८ करोड ७६ लाख रुपैयाँ मात्र प्राप्त भएको तथ्याङ्कले देखाएको छ। आर्थिक वर्ष सकिन दुई महिना मात्र बाँकी रहँदा पुँजीगत खर्चको न्यून गति र आम्दानीको कमजोर अवस्थाले सरकारी लक्ष्य प्राप्तिमा चुनौती देखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ