स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थी आन्दोलित, पठनपाठन ठप्प [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १ शुक्रबार
548
Shares
काठमाडौँ। मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत अध्ययनरत चिकित्साशास्त्र संकायका विद्यार्थीहरूले विभिन्न शैक्षिक तथा भौतिक पूर्वाधारसम्बन्धी माग राख्दै बिहीबारदेखि पठनपाठन बन्द गरेका छन् ।
विद्यार्थीहरूले प्रत्येक सङ्काय र ब्याचका लागि छुट्टै कक्षाकोठाको व्यवस्था गर्न, अध्ययनका लागि पर्याप्त प्रोजेक्टर, ल्यापटप लगायतका शैक्षिक सामग्री उपलब्ध गराउन तथा सबै कक्षाकोठामा सहज इन्टरनेट पहुँच विस्तार गर्न माग गरेका छन् ।
उनीहरूले दैनिक कक्षा तालिका अनुसार नियमित पठनपाठन सुनिश्चित गर्न, प्रयोगात्मक कक्षा र फिल्ड एक्सपोजर पाठ्यक्रमअनुसार अनिवार्य रूपमा सञ्चालन गर्न, वार्षिक शैक्षिक क्यालेन्डर बनाएर समयमै परीक्षा तथा नतिजा प्रकाशन गर्न पनि माग गरेका छन् ।
त्यसैगरी लाइब्रेरी, अध्ययन कक्ष र पर्याप्त पुस्तकको व्यवस्था, कक्षाकोठा तथा प्रतिष्ठान परिसरको नियमित सरसफाइ गरी स्वच्छ वातावरण निर्माण गर्नुपर्ने मागसमेत विद्यार्थीहरूको छ ।
विद्यार्थीहरूले सबै कक्षाकोठामा पर्याप्त पंखा जडान, सङ्कायबीच भेदभावरहित वातावरण, शुद्ध खानेपानीको व्यवस्था, शौचालयको नियमित सरसफाइ, बत्ती, पानी, साबुन र ढोकामा चुकुलको व्यवस्था गर्नुपर्ने बताए।
महिला शौचालयमा स्यानेटरी प्याड विसर्जनका लागि डस्टबिन राख्नुपर्ने माग पनि उनीहरूले अघि सारेका छन् ।
यस्तै, प्राथमिक उपचारका लागि फर्स्ट एड किट उपलब्ध गराउन, फिल्डमा जाँदा बासस्थान, खाना, यातायात र शैक्षिक सामग्रीको सुनिश्चितता गर्न तथा विद्यार्थी चापअनुसार थप बसको व्यवस्था गर्नुपर्ने मागसमेत राखिएको छ ।
आन्दोलनरत विद्यार्थीहरूले आफ्ना माग पूरा नभएसम्म कक्षा सञ्चालन हुन नदिने चेतावनी दिएका छन् ।
उनीहरूले डीन र निर्देशकको कार्यालय घेराउ गर्ने कार्यक्रमसमेत घोषणा गरेका छन् ।
प्रतिष्ठानका निर्देशक डा. जामुन सिंहले आर्थिक अभावका कारण केही भौतिक पूर्वाधार व्यवस्थापन गर्न नसकिएको बताए ।
उनले विद्यार्थीका केही माग तत्काल सम्बोधन गर्न सकिने र बाँकी समस्या हप्ता/दश दिनभित्र समाधान गर्ने प्रयास भइरहेको जानकारी दिए ।
निर्देशक डा. सिंहका अनुसार प्रदेश सरकार र केन्द्र सरकारबाट आवश्यक अनुदान रकम प्राप्त नभएका कारण प्रतिष्ठानले दुई विषयको पढाइ बन्द गर्नुपरेको छ ।
उनले आवश्यक बजेट उपलब्ध नभए आगामी दिनमा अन्य विषय र सङ्कायको कक्षा पनि प्रभावित हुन सक्ने चेतावनी दिए।