एजेन्सी। प्रिमियर लिग क्लब लिवरपुलले आर्सनललाई ३-१ गोलले पराजित गर्दै तीन अंक जोडेको छ। लिवरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलमा रोबर्ट फर्मिनोले गोलको खाता खोलेका थिए।
खेलको ९औं मिनेटमा सादियो मानेको पासमा फर्मिनोले शानदार गोल गरेका थिए। त्यसैगरि ४०औं मिनेटमा पर्मिनोको पासमा मानेले गोल गर्दै लिवरपुललाई २-०को अग्रता दिलाएका थिए।
खेलको ५७औं मिनेटमा आर्सनलका डेनी वेलब्याकले गोल गर्दै खेलमा फर्किने प्रयास गरेका थिए । २-१को स्थितीमा रहेको खेल ९०औं मिनेटमा लिवरपुलका जर्जिनियोविनाल्दमले गोल गर्दै ३-१को स्थितीमा पुर्याएका थिए।
आफ्नो घरेलु मैदानमा लिवरपुलले आर्सनललाई खेल अवधीभर दवाबमा राखेको थियो।
यो नतिजासँगै लिवरपुल अंक-तालिकाको तेस्रो स्थानमा उक्लेको छ भने आर्सनल पाँचौ स्थानमा झरेको छ। लिवरपुलले २७ खेल खेलिसकेको छ भने आर्सनलले २६ खेल मात्र खेलेको छ।
युनाईटेडको बराबरी
त्यसैगरि म्यानचेस्टर युनाईटेडले एएफसी बोर्नमाउथसँगको खेलल बराबरी गरेको छ। खेलको २३औं मिनेटमा युनाईटेडका मार्कोस रोजोले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए।
खेलको ४०औं मिनेटमा जोशुवा किंगले पेनाल्टी मार्फत गोल गर्दै खेल १-१को बराबरीमा पुर्याएका थिए। खेलको ४५औं मिनेटमा बोर्नमाउथका एन्ड्रिउ सरमान रातो कार्ड खाँदै बाहिरिएका थिए।
खेलको ७२औं मिनेटमा ईब्राहिमोविचले हानेको पेनाल्टी बोर्नमाउथका गोलकिपरले बचाउ गरेपछि खेल १-१को बराबरीमा अन्त भएको थियो।
त्यसैगरि लेस्टर सिटीले हल सिटीलाई ३-१ गोलले पराजित गर्दै तीन अंक जोडेको छ।