कोशीको नीति-कार्यक्रममा मिश्रित प्रतिक्रिया, सत्ता-प्रतिपक्ष विभाजित [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ८ शुक्रबार
370
Shares
विराटनगर । कोशी प्रदेश सरकारद्वारा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत नीति तथा कार्यक्रम प्रदेशसभामा छलफलका क्रममा मिश्रित प्रतिक्रिया प्राप्त भएको छ । सत्तापक्ष, प्रतिपक्ष र सत्ता साझेदार दलभित्रै समेत फरक-फरक धारणा सार्वजनिक भएका छन् ।
विपक्षी दल नेपाली कम्युनिष्ट पार्टीका उपनेता बाबुराम गौतमले नीति तथा कार्यक्रमलाई व्यवहारिक कार्यान्वयनको दृष्टिले चुनौतीपूर्ण रहेको टिप्पणी गरेका छन् । उनले दस्तावेजमा धेरै विषय समेटिए पनि कार्यान्वयन पक्ष स्पष्ट नभएकाले अपेक्षित नतिजा आउन कठिन हुने बताएका छन् ।
यसैबीच सत्तारूढ नेकपा (एमाले) का सांसद पाँचकर्ण राईले नीति तथा कार्यक्रमलाई सकारात्मक मूल्यांकन गरेका छन् । उनका अनुसार यसले कोशी प्रदेशको विकास यात्रालाई नयाँ दिशा दिने सम्भावना बोकेको छ र प्रदेशको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
तर सत्ता साझेदार नेपाली कांग्रेसभित्र भने असन्तुष्टि देखिएको छ । केही सांसदहरूले नीति निर्माण प्रक्रियामा पर्याप्त छलफल नभएको र आफ्ना सुझाव समावेश नगरिएको गुनासो गरेका छन् । उनीहरूले पार्टीभित्रै विस्तृत छलफल नगरी नीति तथा कार्यक्रम अघि बढाइएको बताएका छन् ।
यसैबीच मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नीति तथा कार्यक्रमलाई हालसम्मकै उत्कृष्ट र सन्तुलित दस्तावेजको रूपमा व्याख्या गरेका छन् । उनका अनुसार सबै पक्षलाई पूर्ण रूपमा सन्तुष्ट पार्न नसकिने भए पनि सरकार सहकार्य, सहमति र परिणाममुखी कार्यान्वयनमा केन्द्रित रहनेछ ।
उद्योग क्षेत्रबाट पनि नीति तथा कार्यक्रमलाई समर्थन मिलेको छ । नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवन सारडाले नीति तथा कार्यक्रम व्यवसायमैत्री भएको प्रतिक्रिया दिएका छन् ।
प्रदेश प्रमुख पर्शुराम खापुङले बिहीबार प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।