arrow

टेक्ससको ब्लड डोनर्स संयोजकमा शिवप्रसाद काफ्ले

logo
प्रकाशित २०७३ फागुन २२ आइतबार
texas.gif
ड्यालस (अमेरिका) ।  अमेरिकामा स्थापना भएको ब्लड डोनर्स एसोसिएसन (बिडिए) को टेक्सस च्याप्टरमा नयाँ नेतृत्व चयन भएको छ।  सन् २०१३ मा टेक्ससमा बिडिएको च्याप्टर गठन भएको हो। शनिबार भएको साधारण सभाले शिवप्रसाद काफ्लेको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ। बिडिए अमेरिकामा रहेका नेपाली रक्तदाताहरूको संस्था हो ।
 
अर्बिङस्थित नेपाली समाजको हलमा भएको साधारण सभाले काफ्लेलाई संयोजक र सहसंयोजकमा गंगा थापालाई चयन गरेको छ। त्यस्तै अजयराज बगाले महासचिवमा चयन भएका छन्।  कार्यसमितिका सदस्यहरुमा प्रेम श्रेष्ठ (लबक), बिबेक राजबहाक (सान एन्टिनियो), अमरनाथ शाह (डेन्टन), दिनेश शर्मा, गणेश थापा, भानु खरेल, सिर्जना पोखरेल चयन भएका छन्। मिडिया कोअर्डिनेटरमा रामचन्द्र भट्ट चयन भएका छन्।
 
साधारण सभाका शूभकामना मन्तव्य दिँदै नेपाली समाज टेक्ससका अध्यक्ष कृष्ण लामिछानेले बिडिएको भूमिका मानिसको जीवनसँग संबन्धित भएकाले सबैलाई रक्तदानको बारेमा चेतना जगाउनेतिर केन्द्रित हुनुपर्नेमा जोड दिए। 
 
नेपाली जनसम्पर्क समिति वेस्ट टेक्ससका अध्यक्ष हरिबोल भण्डारीले स्कूल जीवनमा बालक्लब स्थापना गरेर रक्तदानप्रति जनचेतना जगाएको स्मरण गर्दै संसारको जुनसुकै कुनामा रहेपनि मानिसले मानवसेवालाई प्रमुख रुपमा लिएर अघि बढेमा जीवन सार्थक हुने विचार व्यक्त गरे।
 
कार्यक्रममा एनआरएन टेक्सस च्याप्टरका अध्यक्ष उत्तम लामिछाने, इन्द्रेणी सांस्कृतिक संघका अध्यक्ष तारा भुषाल, एएनएका उपाध्यक्ष विजयराज भट्टराई, पत्रकारहरु विकासराज न्यौपाने र लेखनाथ गौतम, अमेरिकामा रहेका नेपालीमुलका प्रख्यात चिकित्सक डा. संजीव श्रेष्ठ, ड्यालस एभरेष्ट लायन्स क्लबका अध्यक्ष राधाकृष्ण काफ्ले, अनकनका अध्यक्ष प्रकाश गौतम, नेप्लिज एसोसिएसन अफ ह्युस्टनका महासचिव विष्णु नेपाल लगायतले मन्तव्य व्यक्त गरेका थिए। 
 
सो अवसरमा ब्लड डोनर्स एसोसिएसन अफ अमेरिकाका अध्यक्ष डा. नन्द रेग्मीले सन् २००९ मा स्टारबक्समा कफी पिउँदै सुरु गरेको अवधारणा अनुसार अहिले अमेरिकाका ५० वटै राज्यहरुमा बिडिए सकृय रहेको जानकारी दिए। ‘मानव रगतको विकल्प अरु केही हुन सक्दैन, त्यसो हुँदा शरिरमै नष्ट भएर जाने रगत अरुलाई दान दिएमा ठूलो पुण्य प्राप्त हुन्छ। त्यसतर्फ सबै जना लाग्न जरुरी छ,’ रेग्मीले भने। उनले रक्तदानमार्फत स्वस्थ जीवन संभव रहेको उल्लेख गर्दै अमेरिकामा रहेका नेपाली संघसंस्थाहरुले आफ्नो बार्षिकउत्सव मनाउँदा रक्तदान आयोजना गर्न समेत अपिल गरे। 
 
कार्यक्रममा अध्यक्ष बासु श्रेष्ठले सन् २०१३ नोभेम्बरमा बिडिएको टेक्सस राज्य समिति गठन भएयताका गतिविधिका बारेमा जानकारी दिँदै संस्थालाई सहयोग गर्नेहरुप्रति आभार व्यक्त गरेका थिए। हाल बिडिएमा अमेरिकाभरि तीनसय सदस्य रहेकोमा टेक्ससबाटमात्र ९१ जना रहेका छन्। 
 
बिडिएले रक्तदानको माध्यमबाट अमेरिकामा गरेको सामाजीक कार्यको सम्मान स्वरुप अमेरिकी राष्ट्रपति कार्यालयले समेत ‘प्रेसिडेन्ट भोलेन्टिएर सर्भिस अवार्ड’ प्रदान गरेको छ। 
 
कार्यक्रममा बिडिएलाई सहयोग गर्ने भास्तिका इन्क, अनकन लगायत संघसंस्थाहरुलाई समेत सम्मानपत्रद्वारा सम्मानित गरिएको थियो। त्यस्तै बिडिएको टीमका पदाधिकारीहरुमध्य उत्कृष्ठ भोलेन्टिएर कार्य गर्ने गंगा थापालाई सम्मान गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ