'हाम्रो कूटनीति तथ्य र प्रमाणमा आधारित हुनेछ, विगतका राजनीतिक तथा वैचारिक बोझबाट हामी मुक्त छौँ' : परराष्ट्रमन्त्री शिशिर खनाल (विस्तृत अन्तरवार्ता)
एजेन्सी,
प्रकाशित २०८३ जेठ २३ शनिबार
180
Shares
नयाँ दिल्ली । नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो पहिलो औपचारिक भारत भ्रमणका क्रममा भारतीय टेलिभिजन च्यानल एनडीटीभीलाई विस्तृत अन्तरवार्ता दिएका छन्। बालेन शाहको नेतृत्वमा रहेको नयाँ सरकारले नेपाल–भारत सम्बन्धलाई विगतका राजनीतिक तिक्तताहरूबाट मुक्त गर्दै तथ्य र प्रमाणका आधारमा नयाँ दिशा दिने उनले स्पष्ट पारेका छन्। प्रस्तुत छ, परराष्ट्रमन्त्री खनालसँग गरिएको विस्तृत अन्तरवार्ताको पूर्ण भावानुवाद:
प्रश्न: नेपाल र भारतबीच लामो समयदेखि परम्परागत, सांस्कृतिक र सभ्यतागत सम्बन्ध रहिआएको छ। तर, पछिल्ला केही वर्षहरूमा राजनीतिक तिक्तता पनि देखियो। बालेन शाहको नेतृत्वमा नेपालमा बनेको नयाँ सरकारसँगै नयाँ दिल्ली र काठमाडौँ दुवैलाई यी सम्बन्ध सुधार्ने, मित्रता र भाइचाराको स्मरण गराउने तथा नयाँ कूटनीतिक अभ्यास गर्ने अवसर प्राप्त भएको छ। यहाँलाई एनडीटीभीमा स्वागत छ। रास्वपा र बालेन शाहले हासिल गरेको विशाल चुनावी सफलताबाटै कुराकानी सुरु गरौँ। यो जित नेपालको सन्दर्भमा आफैँमा पहिलो र विशेष छ। यसलाई तपाईँ कसरी हेर्नुहुन्छ? र, यो सरकार विगतका दर्जनौँ सरकारहरूभन्दा कसरी फरक हुनेछ? किनभने यो सफलता जेनजी युवाहरूको आन्दोलनपछि प्राप्त भएको हो, जसले सरकारमा जबाफदेहिता, न्याय र भ्रष्टाचारमुक्त वातावरणको माग गरेका थिए।
परराष्ट्रमन्त्री खनाल: पक्कै पनि। यो निर्वाचन जेनजी आन्दोलनकै पृष्ठभूमिमा सम्पन्न भएको हो। राजनीति केवल राजनीतिका लागि मात्र गर्ने कर्मकाण्डी प्रवृत्तिका कारण युवाहरूमा जुन चरम निराशा छाएको थियो, त्यसैको उपज थियो उक्त आन्दोलन। उनीहरूले जबाफदेहिता र पारदर्शिताको कडा प्रश्न उठाएका थिए; उनीहरू भ्रष्टाचारमुक्त नेपाल चाहन्थे।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एकदमै नयाँ पार्टी हो। यो गठन भएको चार वर्ष पनि पूरा भएको छैन। जेनजी आन्दोलन लगत्तै विघटन भएको अघिल्लो संसद्मा पनि हामी चौथो ठूलो दल थियौँ। जुन २०२२ मा पार्टी गठन गरेर हामी नोभेम्बर २०२२ को निर्वाचनमा होमिएका थियौँ र त्यति बेलै चौथो ठूलो शक्तिका रूपमा उदाएका थियौँ। त्यति बेला म आफैँ पनि सांसद थिएँ र यी मुद्दाहरूलाई हामीले संसद्मा जोडदार रूपमा उठाएका थियौँ। गत वर्ष सेप्टेम्बरमा जब आन्दोलन भयो, हामीले संसद्मा भ्रष्टाचार काण्डहरूको छानबिनको माग गर्दै ९० दिनसम्म संसद् बहिष्कार गरेका थियौँ।
त्यसैले, जब निर्वाचन भयो, नेपालका जनता, विशेष गरी युवाहरूले हामीले उठाएका एजेन्डाहरूसँग गहिरो अपनत्व महसुस गरे। सुशासनप्रतिको हाम्रो अडान, भ्रष्टाचार विरोधी नीति र तीव्र आर्थिक रूपान्तरणको चाहनाले नै हामीलाई यो विशाल जनमतसम्म पुर्याएको हो। यति बलियो जनमत प्राप्त गरिसकेपछि, अहिले हामीसँग दुई वटा स्पष्ट र प्रमुख एजेन्डाहरू छन्: पहिलो– सुशासनको पूर्ण प्रत्याभूति, र दोस्रो– नेपालको तीव्र आर्थिक वृद्धि।
प्रश्न: तपाईँले नयाँ दल रास्वपा र प्राप्त जनमतको कुरा गर्नुभयो। तर भर्खरै मात्र रास्वपा सभापतिले पनि नयाँ दिल्लीको भ्रमण गर्नुभएको थियो र उहाँले जुन प्रकारको अभूतपूर्व र भव्य स्वागत पाउनुभयो, त्यो आफैँमा विशेष थियो। भारतीय जनता पार्टी (भाजपा) को मुख्यालयमा उहाँको भव्य स्वागत र प्रधानमन्त्री मोदीसँगको भेटघाटलाई हेर्दा, दुवै पक्षले नेपाल-भारत सम्बन्धमा नयाँ मार्गचित्र कोर्ने कुरा गरेका छन्। यसको अर्थ के हो? के रास्वपा र भाजपा एउटै बाटोमा हिँडिरहेका छन् भन्ने दुवै देशका जनताले बुझ्नुपर्ने हो?
परराष्ट्रमन्त्री खनाल: हाम्रो पार्टीका सभापतिले प्राप्त गर्नुभएको त्यो भव्य स्वागतका लागि हामी भाजपा र भारत सरकारप्रति अत्यन्तै आभारी छौँ। हामीलाई लाग्छ, यो दुवै पक्षमा विगतका कुराहरूलाई पछाडि छोडेर अघि बढ्ने चाहनाको स्पष्ट सङ्केत हो।
उहाँले भ्रमणका क्रममा भनेजस्तै, हामी विगतका कुनै पनि 'ब्यागेज' (बोझ) लिएर आएका छैनौँ। हामी ताजा र बलियो जनमतसहित आएका छौँ। हामी विगतका वैचारिक वा राजनीतिक भारीहरूबाट मुक्त छौँ। त्यसैले, हामी दुवै देशका नागरिकहरू (नेपाल र भारत दुवैतर्फ) लाई सशक्त बनाउने गतिशील सम्बन्ध निर्माणमा पूर्ण रूपमा ध्यान केन्द्रित गर्न चाहन्छौँ। यसै सन्दर्भमा, हामी यो समयलाई दुवै पक्षका सम्बन्धलाई 'रिसेट' (पुनः सुरुवात) गर्ने र कनेक्टिभिटी (सञ्जाल), व्यापार, ऊर्जा र पूर्वाधारजस्ता सबैभन्दा महत्त्वपूर्ण विषयहरूमा केन्द्रित हुने अवसरका रूपमा हेरिरहेका छौँ। अन्ततः हामी शृङ्खलाबद्ध परियोजनाहरूको घोषणा मात्र गर्नुभन्दा, छिटो र मापनयोग्य नतिजा दिने काममा दुवै पक्षले ध्यान केन्द्रित गरुन् भन्ने चाहन्छौँ।
प्रश्न: तपाईँले नतिजाको कुरा गर्नुभयो, म त्यसमा आउनेछु। तर तपाईँ दिल्ली आए लगत्तै यहाँको नागरिक समाज (इन्डिया फाउन्डेसन) का नेतृत्वकर्ताहरूलाई भेट्नुभयो, जुन राम्रो कुरा हो। त्यसबाहेक, तपाईँले राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग पनि भेटेर नेपाल र भारतबीचको सुरक्षा सहकार्य र गहिरो समझदारीका विषयमा छलफल गर्नुभयो। त्यो भेटघाट कस्तो रह्यो? मलाई थाहा छ सुरक्षासम्बन्धी धेरै कुरा खुलाउन मिल्दैन, तर जति बताउन मिल्छ, त्यसबारे प्रस्ट पारिदिनुस् न।
परराष्ट्रमन्त्री खनाल: नेपाल र भारतबीचका सम्बन्धका आयामहरू बहु आयामिक छन्। हामीबीच सभ्यता, संस्कृति र पारिवारिक सम्बन्धदेखि लिएर राष्ट्र-राज्य स्तरका सम्बन्धहरू छन्, जसमा विभिन्न क्षेत्रका सहकार्यहरू पर्दछन्। सुरक्षा तीमध्ये एक महत्त्वपूर्ण विषय हो। हाम्रो लामो र खुला सिमानाका कारण दुवैतर्फ सुरक्षासम्बन्धी स्वाभाविक र वास्तविक चासोहरू छन्।
सुरक्षाका विषयमा दुवै पक्षबीच निकै बलियो सहकार्य हुँदै आएको छ। नयाँ सरकारका रूपमा, हामीले नेपालको भूमि भारतको राष्ट्रिय सुरक्षा हितको विरुद्धमा कसैलाई पनि प्रयोग गर्न नदिने हाम्रो लामो समयदेखिको प्रतिबद्धतालाई दोहोर्याएका छौँ। पक्कै पनि यो कुनै नयाँ कुरा होइन, यो सधैँ हुँदै आएको अभ्यास हो, तर एउटा नयाँ सरकार बनेपछि हामीले यसलाई पुनः सञ्चार गर्न चाहेका हौँ। सुरक्षा सल्लाहकारसँगको भेटघाट बहु आयामिक र निकै सौहार्दपूर्ण रह्यो; मैले उहाँबाट निकै न्यानोपन र खुलापन महसुस गरेँ।
नागरिक समाजसँगको भेटघाटको उद्देश्य पनि एउटा नयाँ पार्टी र नयाँ सरकारका रूपमा रास्वपा के चाहन्छ र हामी नेपाल-भारत सम्बन्धलाई कसरी अगाडि बढाउन चाहन्छौँ भन्ने कुरा स्पष्ट पार्नु नै थियो।
प्रश्न: तपाईँले सभ्यता, संस्कृति र आर्थिक सम्बन्धको कुरा गर्नुभयो, जुन भारत र नेपालबीच निकै मजबुत छ। जब तपाईँ विदेश मन्त्री एस. जयशङ्करसँग भेट्नुहुन्छ र दुई देशबीचका आर्थिक, सामाजिक तथा राजनीतिक मुद्दाहरूमा कुरा गर्नुहुन्छ, तपाईँको सबैभन्दा पहिलो र उच्च प्राथमिकता के हुनेछ?
परराष्ट्रमन्त्री खनाल: मैले केही महिनाअघि मौरिससमा उहाँलाई भेटेको थिएँ। सरकारमा आएको जम्मा १२ दिन मात्र भएको थियो र इन्डियन ओसन कन्फ्रेन्समा भाग लिन जाँदा त्यो मेरो नेपालबाहिरको पहिलो भ्रमण थियो। त्यति बेलै पनि हामीले नयाँ सरकार आइसकेपछि यी दुई देशबीचको सम्बन्धलाई कसरी अगाडि बढाउने भन्ने विषयमा विचार आदानप्रदान गरेका थियौँ।
नेपाल र भारतबीच सम्भव हुने सबै क्षेत्रमा थुप्रै पहलहरू भइरहेका छन्। तर आजको छलफलमा म मुख्यतया हाम्रा सरकारका प्राथमिकताका ४-५ वटा क्षेत्रहरूमा केन्द्रित हुने योजनामा छु:
१. ऊर्जा: विगत केही वर्षयता हामीले ऊर्जा क्षेत्रमा निकै राम्रो सहकार्य गरेका छौँ। नेपालसँग अथाह जलविद्युत् सम्भावना छ र हामी भारतका लागि हरित ऊर्जाको प्रमुख स्रोत बन्न सक्छौँ। साथै, नेपाल, भारत र बङ्गलादेशबीच त्रिपक्षीय सम्झौता पनि भएको छ, जसअनुसार भारतको प्रसारण लाइन प्रयोग गरेर हामी बङ्गलादेशमा विद्युत् निर्यात गर्न सक्छौँ। यसको परीक्षण पनि भइसकेको छ। हामी ऊर्जामा हालको 'टुक्रा टुक्रा' र परियोजनामुखी दृष्टिकोणभन्दा पनि समग्र क्षेत्रगत दृष्टिकोण चाहन्छौँ, ताकि लगानीकर्ताहरूले निर्धक्क भएर लगानी गर्न सकुन्। हामी १०,००० मेगावाटसम्म विद्युत् निर्यात गर्न सकिने जुन फ्रेमवर्क सम्झौता छ, त्यसका प्रक्रियाहरूलाई कसरी अझ सहज बनाउन सकिन्छ भनेर छलफल गर्नेछौँ।
२. कनेक्टिभिटी (सञ्जाल): खुला सिमानाका कारण हाम्रो स्थल मार्ग जोडिएको छ, तर हामी सडक पूर्वाधारको गुणस्तर र आकारमा आमूल सुधार चाहन्छौँ। हामी रेलमार्गको सञ्जाल विस्तार गर्न चाहन्छौँ। हामी प्राविधिक रूपमा जनकपुर-जयनगर रेलमार्ग तयार अवस्थामा छौँ, के अब हामी जनकपुर र अयोध्यालाई जोड्न सक्छौँ? हामी लुम्बिनीलाई पनि जोड्ने सम्भावनाको खोजीमा छौँ। भैरहवा र पोखरामा नयाँ विमानस्थलहरू छन्। हामी भारत र नेपालका विभिन्न सहरहरूलाई सडक, रेल र हवाई मार्गबाट अझ राम्ररी जोड्न चाहन्छौँ, जसले जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउनेछ।
३. प्रविधि: डिजिटल भुक्तानी प्रणाली (यूपीआई) मार्फत भारतबाट नेपाल भ्रमण गर्नेहरूलाई सहज भुक्तानीको व्यवस्था गर्ने सम्झौता भएको छ, हामी त्यसलाई भारतीय पक्षमा पनि लागू भएको हेर्न चाहन्छौँ। भारतले 'डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर' (डीपीआई) मा उत्कृष्ट काम गरेको छ, हामी त्यहाँबाट धेरै कुरा सिक्न चाहन्छौँ। कृत्रिम बौद्धिकता (एआई) र ल्याङ्ग्वेज मोडलका विषय पनि हाम्रा छलफलका हिस्सा हुनेछन्।
४. शिक्षा र स्वास्थ्य: स्वास्थ्य क्षेत्रमा हाम्रो सहकार्य भइरहेकै छ, तर हामी शिक्षामा थप उत्कृष्ट सहकार्यको अपेक्षा गर्छौँ। उदाहरणका लागि, के हामी नेपालमा आईआईटीको क्याम्पस वा कुनै उच्चस्तरको प्राज्ञिक संस्था खोल्न सक्छौँ? हाम्रो छलफल यिनै विषयहरूमा केन्द्रित हुनेछ, जसले अन्ततः नेपाली जनताको जीवनस्तरमा वास्तविक र प्रत्यक्ष प्रभाव पार्नेछ।
प्रश्न: तपाईँले सहकार्यका धेरै क्षेत्रहरू र विशाल सम्भावनाहरूको उल्लेख गर्नुभयो। के जयशङ्करसँगको आजको भेटमा कुनै नयाँ समझदारी पत्रमा हस्ताक्षर हुने सम्भावना छ?
परराष्ट्रमन्त्री खनाल: केही विषयहरूमा छलफल भइरहेको छ। सम्भवतः यूपीआईसँग जोडिएको डिजिटल भुक्तानीसम्बन्धी एमऔयूमा आज हस्ताक्षर हुने हाम्रो अपेक्षा छ। साथै, हाम्रा विश्वविद्यालय र भारतका इन्स्टिच्युटहरू मिलेर एआई (एआई) का लागि क्षेत्रीय भाषाहरूमा आधारित 'ल्याङ्ग्वेज मोडल' तयार गर्ने विषयलाई निष्कर्षमा पुर्याउने आशा गरेका छौँ। यसबाहेक नेपालमा सम्पन्न भइसकेका केही परियोजनाहरूलाई पनि तत्काल औपचारिक रूप दिने हाम्रो तयारी छ।
प्रश्न: मन्त्रीज्यू, तपाईँले नेपालका जनता र नयाँ नेपालको परिकल्पनामा मद्दत पुग्ने रचनात्मक क्षेत्रहरूको कुरा निकै सुन्दर ढङ्गले प्रस्तुत गर्नुभयो। तर नेपालका विगतका सरकारहरूलाई फर्केर हेर्दा, एकातिर भारतले प्राविधिक र आर्थिक रूपमा ठूलो फड्को मारिरहँदा, अर्कोतिर नेपालले ती अवसरहरू गुमाएको जस्तो देखिन्छ। कतै स्पष्टताको अभाव त कतै नेपाल र भारतबीच आवश्यक पर्ने कूटनीतिक र मैत्रीपूर्ण सम्बन्धमा कमी रहेको महसुस हुन्छ। यदि त्यसो हो भने, तपाईँको सरकारले त्यसलाई कसरी सच्याउने प्रयास गर्नेछ?
परराष्ट्रमन्त्री खनाल: हामीले ती महत्त्वपूर्ण अवसरहरू गुमायौँ भन्ने कुरा हामी गहिरो रूपमा महसुस गर्छौँ। नेपाल दुई ठूला देशहरूको बीचमा अवस्थित छ र हाम्रो अधिकांश संलग्नता, चाहे त्यो पारिवारिक होस् वा व्यापारिक, भारतसँगै बढी छ।
विगत केही वर्षहरूमा भारतले द्रुत गतिमा आर्थिक वृद्धि गरिरहँदा, हामी भने जहाँको त्यहीँ रह्यौँ। विगत तीन दशकलाई हेर्ने हो भने, नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) ५ प्रतिशतभन्दा माथि पुगेका दृष्टान्तहरू औँलामा गन्न सकिने मात्र छन्। जब भारतले बर्सेनि ८-९ प्रतिशतको वृद्धिदर हासिल गरिरहेको छ भने, हामीले कम्तीमा दोहोरो अङ्कको वृद्धि हासिल गर्नुपर्थ्यो। हामीले पक्कै पनि अवसरहरू गुमाएका छौँ। त्यसैले, अहिले हाम्रो प्रयास भनेको यी सम्बन्धहरूलाई 'रिसेट' गरेर विकासको यो गतिमा आफूलाई पनि सँगै दौडाउनु हो।
यसका लागि हामीले सबै क्षेत्रमा छरिएर काम गर्नुभन्दा, भारत सरकार र नेपाल सरकार दुवैले प्राथमिकतामा राखेका दुई–तीन वटा मुख्य परियोजनाहरूमा स्पष्ट 'डेडलाइन' (समय सीमा) तोकेर काम गर्ने रणनीति अपनाउन चाहन्छौँ। धेरै परियोजनाहरूको कुरा गर्नुभन्दा प्रत्येक क्षेत्रमा केही सीमित परियोजनाहरूमा केन्द्रित हुनुपर्छ। यदि हाम्रो तर्फबाट कुनै चुनौतीहरू छन् भने हामी त्यसलाई समाधान गर्न प्रतिबद्ध छौँ र भारतको तर्फबाट चुनौतीहरू आउँदा हामी भारतसँग मिलेर त्यसलाई समाधान गर्नेछौँ। अब हाम्रो काम गर्ने शैली यही हुनेछ।
प्रश्न: तपाईँ आफैँले भन्नुभयो कि एउटा 'रिसेट' आवश्यक थियो र सम्भवतः तपाईँको यो भ्रमणले त्यसको आधारशिला तयार गर्दै छ। विगतमा केही राजनीतिक तिक्तताहरू थिए, जीवन्त लोकतन्त्रमा यस्ता तिक्तताहरू हुनु अस्वाभाविक होइन। तर के नयाँ सरकार आएसँगै ती तिक्तताहरू अब विगत भइसकेका हुन्? के हामी अब भूराजनीतिक यथार्थलाई बुझेर संवाद, कूटनीति र व्यावहारिक दृष्टिकोणको अपेक्षा गर्न सक्छौँ, ताकि नेपाल र भारतले त्यो कठिन समयलाई पछाडि छोडेर सकारात्मक भविष्यतर्फ हेर्न सकुन्?
परराष्ट्रमन्त्री खनाल: हामीले प्राप्त गरेको बलियो जनमतले तपाईँले उल्लेख गरेका ती तिक्तताहरूलाई पार गर्न ठूलो मद्दत गर्छ। विगतका धेरै वर्षहरूमा नेपालमा सधैँ 'त्रिशङ्कु' संसद् बन्यो। त्यसले गर्दा सधैँ गठबन्धन सरकार बनाउनुपर्ने बाध्यता रह्यो र ती गठबन्धनहरू छिटो छिटो परिवर्तन भइरहे। त्यसैको धर्षणले गर्दा अन्तर्राष्ट्रिय र भूराजनीतिक मुद्दाहरूलाई आन्तरिक राजनीतिक खपतका लागि प्रयोग गर्ने प्रवृत्ति बढ्यो।
तर हामी सरकारमा आइसकेपछि वा अघिल्लो संसद्मै पनि हाम्रो ३-४ वर्षको राजनीतिक यात्रालाई गहिरिएर हेर्नुभयो भने, हामी सधैँ हाम्रा आफ्नै प्राथमिकताहरूमा मात्र केन्द्रित रह्यौँ। हामी अन्तर्राष्ट्रिय सम्बन्धका विषयहरूलाई आन्तरिक राजनीतिक खपतको विषय बनाउँदैनौँ। हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध भावनामा होइन, तथ्य र प्रमाणमा आधारित हुनुपर्छ भन्नेमा हामी अत्यन्तै सचेत छौँ।
यस्तो किन सम्भव भयो भने, हामी कुनै लामो परम्परागत राजनीतिक पृष्ठभूमिबाट आएका होइनौँ। हाम्रो पार्टी नयाँ छ र हामी अधिकांश गैर-राजनीतिक वा व्यावसायिक पृष्ठभूमिबाट आएका हौँ। यसको अर्थ हामी विगतका कतिपय वैचारिक भारी वा बोझहरूबाट धेरै हदसम्म मुक्त छौँ। विभिन्न क्षेत्रका युवा पेसेवरका रूपमा हामी विश्वलाई 'समस्या समाधान' गर्ने दृष्टिकोणबाट हेर्छौँ। हामी बुझ्छौँ कि नेपाल र भारतबीच केही क्षेत्रमा समस्याहरू छन्, जुन स्वाभाविक हो। तर ती समस्याहरू भावनामा बगेर होइन, तथ्य र तथ्याङ्कमा आधारित कूटनीतिक संवादमार्फत समाधान गर्न सकिन्छ भन्ने हाम्रो दृढ विश्वास छ।
प्रश्न: संवाद र कूटनीतिलाई प्राथमिकता दिइने कुरा सुन्न पाउँदा खुसी लाग्यो। नेपालका नयाँ प्रधानमन्त्री बालेन शाह एक 'चेन्जमेकर' (परिवर्तनकारी) को रूपमा आउनुभएको छ। मैले उहाँको बारेमा एउटा कुरा के याद गरेको छु भने, उहाँ मौन रहनुहुन्छ, मिडियासँग धेरै अन्तरक्रिया गर्नुहुन्न र नेपालका जनतासँग उहाँको सीधा सम्पर्क छ। उहाँलाई भारत भ्रमणको निम्तो पनि गएको छ भन्ने सुनेको छु। के उहाँ छिट्टै भारत भ्रमणमा आउँदै हुनुहुन्छ?
परराष्ट्रमन्त्री खनाल: मलाई विश्वास छ उहाँले पक्कै भारतको भ्रमण गर्नुहुनेछ। सरकार बनेको भर्खर ३ महिना पनि पुगेको छैन; १०० दिनलाई कुनै पनि सरकारको 'हनिमुन पिरियड' मानिन्छ। उहाँ अहिले पूर्ण रूपमा आन्तरिक प्राथमिकताहरूमा केन्द्रित हुनुहुन्छ। हामी बुझ्छौँ कि जनताको हामीमाथि असाध्यै ठूलो अपेक्षा छ। जनताहरू विगतमा सम्भव नभएको गति र आकारमा परिणाम चाहन्छन्। र हामीलाई त्यो जनमत दिने नेपाली जनताप्रति हामी पूर्ण रूपमा उत्तरदायी छौँ।
त्यसैले, प्रधानमन्त्रीज्यू अहिले आन्तरिक एजेन्डामा केन्द्रित हुनुहुन्छ र छिटो नतिजाहरू देखाउन चाहनुहुन्छ। हामीले गत हप्ता मात्रै नयाँ सरकारको पहिलो बजेट घोषणा गरेका छौँ। यी आन्तरिक प्राथमिकताहरू एक चरणमा पुगेपछि र जब उच्चस्तरीय भ्रमणहरूको आवश्यकता पर्छ, उहाँले पक्कै भ्रमणहरू सुरु गर्नुहुनेछ। हामीले पक्कै पनि निमन्त्रणा प्राप्त गरेका छौँ। दुवै पक्षको सहमतिमा भविष्यमा कुनै उपयुक्त समयमा त्यो भ्रमण हुने नै छ। अहिले म यहाँ छु, सरकारको प्रतिनिधिको रूपमा यो मेरो पहिलो भ्रमण हो र यसले त्यस्ता उच्चस्तरीय भ्रमणहरूको लागि बलियो जग तयार पार्नेछ। हामी दुवै पक्षबाट उच्चस्तरीय भ्रमणहरूको आदानप्रदान हुने आशा गर्छौँ।
एनडीटीभी: मन्त्री खनाल, नेपालका जनताको प्रगति, समृद्धि र शान्तिको कामना गर्दछु। र आशा गरौँ, प्रधानमन्त्री बालेनले छिट्टै नयाँ दिल्लीको भ्रमण गर्नुहुनेछ। हामीसँग जोडिनुभएकोमा धेरै धेरै धन्यवाद।