काठमाडौँ । झापाको मेचीनगरमा जङ्गली हात्तीको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय, झापाका प्रहरी निरीक्षक विजय चौहानका अनुसार मेचीनगर नगरपालिका–४ निवासी ६२ वर्षीया पद्मा पौडेलको हात्तीको आक्रमणबाट मृत्यु भएको हो।
आज बिहान घरबाट बाहिर निस्कने क्रममा उनलाई अचानक हात्तीले आक्रमण गरेको थियो। हात्तीले कुल्चँदा उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।
हात्तीको आक्रमणबाट ज्यान गुमाएकी पौडेलको शवलाई पोस्टमार्टम (परीक्षण) का लागि भद्रपुरस्थित मेची प्रादेशिक अस्पताल पठाइएको छ।
झापाका विभिन्न क्षेत्रमा लामो समयदेखि जङ्गली हात्तीको आतङ्क र यसबाट जनधनको क्षति हुने क्रम रोकिन सकेको छैन।