arrow

नेपाल र केन्याबीचको क्रिकेटः कप्तान पारस नखेल्ने, सुनील धमला डेब्यु गर्दै

खेल ३८ ओभरमा झारियो

logo
प्रकाशित २०७३ फागुन २८ शनिबार
cricket-nepal-kenya-pitch.jpeg
काठमाडौं । नेपाल र केन्याबीचको विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको पहिलो खेलमा सदावहार कप्तान पारस खड्का नखेल्ने पक्का भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हल्का वार्मअप गरे पनि खेलका लागि भने पिचमा नउत्रिने बताइएको छ ।
 
पारसको यसै महिनाको सुरुमा पेटको शल्यक्रिया भएको थियो । उनी अभ्यास खेलका लागि भारत पनि गएका थिएनन् । पारस नखेल्ने भएपछि उपकप्तान ज्ञानेन्द्र मल्लले कप्तानी सम्हाल्दै छन् । 
 
यसैबीच युवा खेलाडी सुनील धमलाले यसै खेलमार्फत राष्ट्रिय टिममा डेब्यु गर्दैछन् । खेल पनि ३८ ओभरमा झारिएको छ । 
 
बिहान ९ः१५ देखि हुनुपर्ने खेल वर्षाले गर्दा सुरु नै हुन सकेको छैन ।
 
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा १०ः०० बजे घाम लागेपछि पिचको कभर हटाएर यतिबेला पिच मिलाउने काम भइरहेको छ । त्यस्तै मैदानको आउटफिल्ड पनि सुकाउने काम भइरहेको छ ।
 
खेल हुने आशा बढे पनि आकाश मडारिंदा भने खेलको सम्भावना अझै निश्चित हुन सकेको छैन । मौसम यस्तै रहे ११ः४५ मा टस हुने बताइएको छ । 
 
दर्शक भने बढ्दै गएका छन् । ११ हजार बढी टिकट बिक्री भए पनि अहिलेसम्म आधा बढी दर्शक कीर्तिपुर मैदानमा पुगिसकेका छन् । 
 
मौसम पूर्वानुमान महाशाखाले आइतबार दिउँसोपछिमात्र मौसममा सुधार हुने बताइरहँदा फेरि वर्षा हुने सम्भावना टरेको छैन ।
 
आज र सोमबार गरी दुई खेल खेल्न केन्या नेपालमा आएको हो । शीर्ष चारभित्र अटेर विश्वकप छनोटमा छानिन पनि नेपाललाई यो खेल जित्नैपर्ने छ ।
 
वर्षाले खेल हुन नसके सबैभन्दा बढी घाटा नेपाललाई हुनेछ । आठ टोली सहभागी प्रतियोगिताका शीर्ष चारमा पुग्ने टिमले विश्वकप छनोट खेल्न पाउने भएकाले ६ अंकसहित छैटौं स्थानमा रहेको नेपाललाई यो खेल जित्नैपर्ने दबाब छ । त्यस्तै केन्या ८ अंकसहित पाँचौं स्थानमा छ ।



नयाँ