काठमाडौं । नेपाल र केन्याबीचको विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको पहिलो खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको छ । खेलमा टस हारेर नेपालले पहिले ब्याटिङ गर्दैछ ।
यता कप्तान पारस खड्का भने खेल्न सकेनन् । हल्का वार्मअप गरे पनि खेलका लागि भने पिचमा उत्रिन नसकेका हुन् ।
पारसको यसै महिनाको सुरुमा पेटको शल्यक्रिया भएको थियो । उनी अभ्यास खेलका लागि भारत पनि गएका थिएनन् । पारस नखेल्ने भएपछि उपकप्तान ज्ञानेन्द्र मल्लले कप्तानी सम्हालेका छन् ।
यसैबीच युवा खेलाडी सुनील धमला र दीपेन्द्र सिंह ऐरीले यसै खेलमार्फत राष्ट्रिय टिममा डेब्यु गर्दैछन् । खेल पनि ३८ ओभरमा झारिएको छ ।
बिहान ९ः१५ देखि हुनुपर्ने खेल वर्षाले गर्दा ढिला गरी सुरु भएको हो । दर्शक भने बढ्दै गएका छन् । ११ हजार बढी टिकट बिक्री भएको जनाइएको छ ।
मौसम पूर्वानुमान महाशाखाले आइतबार दिउँसोपछिमात्र मौसममा सुधार हुने बताइरहँदा फेरि वर्षा हुने सम्भावना टरेको छैन ।
आज र सोमबार गरी दुई खेल खेल्न केन्या नेपालमा आएको हो । शीर्ष चारभित्र अटेर विश्वकप छनोटमा छानिन पनि नेपाललाई यो खेल जित्नैपर्ने छ ।
वर्षाले खेल हुन नसके सबैभन्दा बढी घाटा नेपाललाई हुनेछ । आठ टोली सहभागी प्रतियोगिताका शीर्ष चारमा पुग्ने टिमले विश्वकप छनोट खेल्न पाउने भएकाले ६ अंकसहित छैटौं स्थानमा रहेको नेपाललाई यो खेल जित्नैपर्ने दबाब छ । त्यस्तै केन्या ८ अंकसहित पाँचौं स्थानमा छ ।