क्याप नोउ । स्पेनिश फुटबल लिग ला लिगामा बार्सिलोनाले शानदार जित हासिल गरेको छ । बार्सिलोनाले घरेलु मैदान क्याप नोउमा आइतबार राति भ्यालेन्सियालाई ४–२ ले हरायो ।
खेलको २९ औं मिनेटमा एलिक्विम मंगलाको गोलबाट भ्यालेन्सियाले प्रारम्भिक अग्रता लियो । ३५ औं मिनेटमा लुइस सुवारेजले बार्सिलोनालाई बराबरी गोल दिलाए ।
तर मंगलाले ४४ औं मिनेटमा रातो कार्ड खाँदै मैदानबाट बाहिरिनु पर्यो । सो अवसरमा पाएको पेनाल्टीलाई लिओनल मेसीले गोलमा परिणत गर्दै २–१ को अग्रता दिलाए ।
तत्कालै मुनिर एल हद्धादीले गोल गर्दै भ्यालेन्सियालाई बराबरीमा ल्याए । ५२ औं मिनेटमा मेसीले अर्को गोल थपे ।
निकै प्रतिस्पर्धात्मक एवं तनावपूर्ण खेलमा एन्द्रेस एनिस्ता, आन्द्रे गोमेज र मेसीले पहेंलो कार्ड खाए । ८९ औं मिनेटमा गोमेजले गोल गर्दै बार्सिलोनालाई ४–२ ले जिताए ।
यो जितसंगै २८ खेलबाट ६३ अंकसहित बार्सिलोनाले २७ खेलबाट ६५ अंक जोडेको रियाल मड्रिडसंग अंकदूरी कम गरेको छ ।
लिगको अर्को खेलमा सेभियाले एथलेटिको मड्रिडसंग ३–१ को हार बहोर्दा २८ खेलबाट ५७ अंकसहित तेस्रो स्थानमै चित्त बुझाउनु परेको छ ।
जितसंगै एथलेटिकोको ५५ अंक भएको छ ।