स्थानीय तहमा पन्ध्र श्ययाको अस्पताल स्थापना गर्न निर्देशन

प्रकाशित मिति : २०७३ चैत ८ मंगलबार
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ७४४ वटै स्थानीय तहमा पहिलो चरणमा कम्तीमा पनि १५ श्ययाको अस्पताल स्थापना गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएका छन् ।  
 
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता दामोदर रेग्मीका अनुसार आइतबार जारी भएको स्थानीय तहको शासन सञ्चालन सम्बन्धमा जारी गरिएको आदेश, २०७३ अनुसार प्रधानमन्त्रीले तत्काल अस्पताल स्थापनाका लागि निर्देशन दिएका हुन् । 
 
स्थानीय तह व्यवस्था र सेवा प्रवाह कार्यारम्भ भइसकेकाले संविधान तथा नेपाल सरकारबाट स्वीकृत कार्यविस्तृतीकरण बमोजिम जनतालाई सरल र सहज रुपमा सेवा प्रवाह गर्नका लागि अस्पताल स्थापना गर्न प्रधानमन्त्रीले निर्देशन दिएका हुन् । 
 
कतिपय स्थानीय तहमा अस्पताल भएपनि सबैमा अस्पताल नभएको भन्दै प्रधानमन्त्रीले सोको व्यवस्था गर्न र तत्काल कार्यारम्भ गर्न समेत मन्त्रालयलाई ध्यानाकर्षण गराएका हुन् । 
 
यस्तै, स्थानीय तह व्यवस्था र सेवा प्रवाह सुरु भएका सन्दर्भमा शिक्षा क्षेत्रको काम स्थानीय तहबाट व्यवस्थापन गर्नुपर्ने भएकाले नगरपालिका र गाउँपालिका गरी ७४४ वटै स्थानीय तहमा उक्त कार्य गराउने व्यवस्था गर्न समेत निर्देशन दिइएको छ । 
 
अस्पताल तथा शिक्षा क्षेत्रको कामलाई पहिलो प्राथमिकतामा राखी काम गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले निर्देशन दिएको प्रवक्ता रेग्मीले जानकारी दिए । रासस 

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ