arrow

सागका लागि महिला कुस्ती खेलाडी छानिए

logo
प्रकाशित २०७२ पुष १३ सोमबार
kusti.jpg.jpeg
काठमाडौं । भारतमा हुने १२औं दक्षिण एसियाली खेलकुद सागका लागि महिला कुस्ती खेलाडी छनोट भएका छन् । १२औं दक्षिण एसियाली खेलकुद तयारी कार्यकारी समितिले संचालन गरेको राष्ट्रव्यापी खुला कुस्ती छनोट प्रतियोगिताबाट सोमबार ८ महिला खेलाडी छनोट भएका हुन् ।
 
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको लुम्बिनी हलमा भएको प्रतियोगिताको महिला ४८ केजीमा इलामकी सुमित्रा राई पहिलो भइन् । सुमित्राले पर्साकी पूजाकुमारी श्रीवास्तवलाई पराजित गरिन् । ५३ केजीमा कञ्चनपुरकी इश्वरी थापा पहिलो भइन् । इश्वरीले इलामकी रोशनी राईको चुनौती पन्छाइन् । ५५ केजीमा धनकुटाकी सर्मिला राइले आफ्नै जिल्लाकी राधिका रोकायालाई हराउदै छनोट भइन् ।
 
महिलाको ५८ केजीमा कञ्चनपुरकी लक्ष्मी खत्री, ६० केजीमा रुकुमकी कविता पुन, ६३ केजीमा सप्तरीकी शान्ति चौधरी, ६९ केजीमा लीला सिंह तथा ७५ केजीमा मोरङकी भानु थापलिया छनोट भए । पाँचै खेलाडीले कुनै प्रतिद्वन्द्वी नपाएपछि उनीहरु सागका लागि स्वतः छनोट भएका हुन् ।
 
महिलातर्फ ११ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । छनोट संयोजक एवं वरिष्ठ कुस्ती प्रशिक्षक विद्यासागर पोखरेलका अनुसार नेपालमा महिला कुस्तीको राष्ट्रव्यापी प्रतियोगिता भएको पहिलोपटक हो । यसअघि महिलाको प्रदर्शनी खेल मात्र भएको पोखरेलले जनाएका छन् । सागमा पनि महिला कुस्ती पहिलो पटक समावेश गरिएको हो ।
 
पुरुषतर्फ पनि आठै खेलाडी सागका लागि छनोट हुने छन् । पहिलो दिनको खेल समाप्तिसम्म एक पुरुष खेलाडीको टुंगो लागिसकेको छ । ११ औं सागका रजतधारी सत्येन्द्रप्रसाद यादव १२५ केजी तौलसमूहमा छनोट भएका छन् । सत्येन्द्रले पनि प्रतिद्वन्द्वी भेटाएनन् । अन्य स्पर्धाको ५७ केजीमा पर्साका जयमंगल यादव, ६१ केजीमा बाराका रामबाबु यादव, बाराका प्रमालाल यादव र रौतहटका भगवत साह तथा ६५ केजीमा पर्साका सरोज यादव र बाराका धुपलालप्रसाद यादवले जित हात पारेका छन् ।
 
त्यस्तै ७४ केजीमा नेपाल आर्मी क्लबका भेषराज पण्डित र बाराका सन्देश पण्डित, ८६ केजीमा बाँकेका रमेश गोतामे र १० औं सागका रजतधारी बाराका बुनीलाल यादव तथा ९७ केजीमा पर्साका सुमिर साह र सिरहाका जितेन्द्रप्रसाद यादवले आ–आफ्नो खेल जितेका छन् । पुरुषमा ३६ खेलाडी सहभागी छन् । प्रतियोगिता मंगलबार हुनेछ । सागमा कुस्तीले तेश्रो संस्करणदेखि प्रवेश पाएको थियो । नेपाल त्यसको अर्को संस्करण चौथोदेखि निरन्तर सहभागी हुँदै आएको छ । हालसम्म कुस्तीले सागमा ४ रजत र ९ कांस्य पदक नेपाललाई दिलाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ