arrow

आयोजनाको काम तत्काल सम्पन्न गर्न अर्थमन्त्रीको निर्देशन

logo
प्रकाशित २०७२ पुष १३ सोमबार
Bishnu-Paudel.jpg.jpeg
काठमाडौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिँचाइमन्त्री उमेश यादवसहित उक्त मन्त्रालयसँग सम्बन्धित विभिन्न सिँचाइ तथा नदी नियन्त्रणसँग सम्बन्धित आयोजनाका प्रमुखसँग प्रगति विवरणबारे छलफल गरेका छन् । चालु अवस्थामा रहेका ती आयोजनालाई द्रुत गतिमा अगाडि बढाउन र तोकिएको समयमा कार्य सम्पन्न हुने वा नहुने कस्तो अवस्थामा छ भन्ने विषयमा अर्थमन्त्रीले आधा दर्जनभन्दा बढी आयोजनाबारे जानकारी लिएका हुन् । 
 
सोही क्रममा बबई सिँचाइ, भेरी बबई बहुउद्देश्यीय, रानी जमरा, सिक्टा, सुनकोसी–मोरङ, सुनकोसी–मरिना, सुनकोसी–कमला, कालीगण्डकी तिनाउ डाइभर्सनलगायत आयोजनासँग सम्बन्धित महानिर्देशक तथा आयोजना प्रमुख छलफल भएको थियो । अर्थमन्त्री पौडेलले भने “मुलुकको विकासका लागि महत्वपूर्ण मानिएका ठूला योजनालाई तोकिएको समयमै सम्पन्न गर्नुपर्छ, देशको अर्थतन्त्र तथा जनताको जीवनस्तरमा प्रत्यक्ष प्रभाव पार्ने आयोजनाको काम ढिला हुनु हुँदैन ।” विकास आयोजनालाई पूरा गर्नका लागि अर्थ मन्त्रालय साधक बन्ने स्पष्ट पार्दै आफूले सुनसरी–सप्तरीका सबै संसद्सहितको भेला बोलाएर अगाडि बढ्ने बताए ।
 
सिँचाइ तथा नदी नियन्त्रणसँग सम्बन्धित आयोजनाका प्रमुखसँगको छलफलमा अर्थमन्त्रीले अन्तरमन्त्रालय समन्वय गरेर ठूलो आयोजना समयमै सम्पन्न गर्न आग्रह गरेको अर्थमन्त्रीका प्रेस सल्लाहकार मोहन चापागाईंले जानकारी दिए । सोही क्रममा सिँचाइमन्त्री यादवले आफ्नो मन्त्रालयसँग सम्बन्धित आयोजनालाई समयमै सम्पन्न गराउन आफूले पहल गरिरहेको र त्यसका लागि स्रोत साधनको कमी हुन नहुने बताए ।
 
अर्थसचिव लोकदर्शन रेग्मी र सिँचाइ सचिव अनुपकुमार उपाध्यायले राष्ट्रिय गौरवका आयोजनालाई चाँडो अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरेका थिए । आयोजना प्रमुखहरुले बजेटको अभाव, नदीजन्य निर्माण सामग्रीको अभाव, जग्गाप्राप्ति एवम् इन्धन अभावका कारण आयोजना निर्धारित समयमा सम्पन्न गर्न कठिनाइ भएको समेत बताएका थिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ